विराटनगरमा। । कोशी प्रदेशमा नेपाली कांग्रेसभित्र संस्थापन र संस्थापनइतर पक्षबीच विभिन्न सांगठनिक मुद्दामा मतभेद रहँदै आए तापनि वर्तमान सरकारबाट बाहिरिने विषयमा भने दुवै पक्षबीच पूर्ण एकमत देखिएको छ।
सत्ताबाट बाहिरिएर प्रतिपक्षमा बस्ने वा नयाँ समीकरण खोज्ने भन्ने विषयमा दलभित्र कुनै विवाद नरहेको नेताहरूको दाबी छ।
एमालेसँगको दूरी बढेसँगै कांग्रेसले अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नयाँ समीकरण निर्माणका लागि अनौपचारिक संवाद समेत सुरु गरिसकेको छ। यद्यपि, नेकपासँग ठोस सहमति हुन नसकेको खण्डमा सातै प्रदेशमा प्रतिपक्षमा बस्ने रणनीतिमा कांग्रेस रहेको छ।
उता, मुख्यमन्त्री हिक्मत कार्कीको सचिवालयले पनि कांग्रेसका मन्त्रीहरूबाट आजै राजीनामा आउन सक्ने आकलन गरेको छ। मुख्यमन्त्री निकट स्रोतका अनुसार केन्द्रको पछिल्लो राजनीतिक समीकरण र कांग्रेसको आन्तरिक छलफललाई मध्यनजर गर्दै सचिवालयले कांग्रेस मन्त्रीहरूको बहिर्गमनलाई निश्चित जस्तै मानेको छ।
कांग्रेस सरकारबाट बाहिरिएसँगै कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारको भविष्य र सम्भावित नयाँ राजनीतिक समीकरणबारे चर्चा र बहसहरू तीव्र बनेका छन्।
कांग्रेस महामन्त्री घिमिरेले सुदूरपश्चिम र कर्णाली प्रदेश सरकारबाट फिर्ता हुने निर्णय भइसकेको जानकारी दिएकाले कोशीमा पनि आजै मन्त्रीहरूले राजीनामा दिने सम्भावना बलियो बनेको छ।
