काठमाडौँ । युरोपेली संघ (ईयू) र युक्रेनबीच नयाँ ड्रोन सहकार्य सम्झौता घोषणा भएको केही घण्टामै रुसले युक्रेनको राजधानी किभमाथि भीषण क्षेप्यास्त्र आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार रुसले किभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो।
किभका मेयर भिटाली क्लिट्सकोले बिहीबार बिहान सामाजिक सञ्जाल टेलिग्राममार्फत दिएको जानकारीअनुसार रुसी मिसाइल सभ्यातोशिनस्की जिल्लाको एक गोदाम र डार्निट्स्की जिल्लाको एक गैरआवासीय भवनमा बजारिएका छन्। मिसाइलका भग्नावशेष खस्दा विभिन्न स्थानमा आगलागी भएको र आगो निभाउन तथा उद्धारका लागि आपत्कालीन टोली परिचालन गरिएको उनले बताएका छन्।
यो आक्रमण युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले किभ भ्रमणका क्रममा युक्रेनसँग नयाँ ‘ड्रोन सम्झौता’ घोषणा गरेको केही घण्टापछि नै भएको हो।
युक्रेनको राष्ट्रियता दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष लेयनले यो सम्झौताले युक्रेनी युद्धमैदानको नवप्रवर्तन र युरोपको औद्योगिक उत्पादन क्षमतालाई एकसाथ जोड्ने बताएकी थिइन्। सम्झौताको मुख्य लक्ष्य युद्धमैदानमा विकसित ड्रोन प्रविधिलाई तीव्र रूपमा विस्तार गर्नु रहेको छ।
यसैबीच, बुधबार युक्रेनका विभिन्न क्षेत्रीय औद्योगिक प्रतिष्ठान र स्वास्थ्य संस्थाहरूलाई निशाना बनाएर गरिएको रुसी बमबारीमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। ईयूसँगको सहकार्य घोषणा लगतै रुसले युक्रेनमाथि आक्रमण तीव्र पारेको छ।
