काठमाण्डौ । पहिलो कारोबार दिन सेयबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१७ प्रतिशत अर्थात ३०.६० अंकले घटेर २ हजार ५७०.१८ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले घटेर ४५०.५५ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३६८ वटा स्क्रिप्टको ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ७ अर्ब ४६ करोड ८४ लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ६ अर्ब ८६ करोड ७ लाख बढीको सेयर कारोबार भएको थियो।
आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘बजारलाई धेरै फ्याक्टरले इफेक्ट गरेको छ, पहिलो त पोलिटिकल सेनारियो हो । अहिले राज्यको विभिन्न खालका क्रियाकलापप्रति सर्वसाधारणहरु असन्तुष्ट छन्, व्यवसायी र लगानीकर्तामाथि गरेको धरपकडले त्रसित हुने अवस्था छ । साथै अहिले बजार नेगेटिभ हुनुको अर्को कारण भनेको मसान्तको दबाब पनि हो ।
ठूला–ठूला लगानीकर्ता वा संस्थागत लगानीकर्ताहरुले हिसाबकिताब मिलान गर्न सेयर बेचेको हुन सक्छ । बैंक र इन्स्योरेन्स कम्पनीहरुले आफ्नो स्वामित्वमा भएको सेयर बेचेका छन् ।
उनले थपे, ‘यसबाहेक अहिले लगानीकर्ताले चाहेर पनि सेयरमा लगानी गर्न पाइरहेका छैनन् । ब्रोकर कम्पनीहरुले लिमिट नराख्दा लगानीकर्ताले प्रयाप्त सेयर किन्न पाइरहेका छैनन् । सम्भवतः अब नयाँ आर्थिक वर्ष सुरु भइसकेपछि बजार केही सम्हालिन सक्छ । मसान्तको दबाब सकिएपछि संस्थागत लगानीकर्ताहरुले सेयर किन्नेछन् र राज्यले पनि लगानीकर्तालाई कन्फिडेन्ट दिलायो भने बजार अवश्य फर्किनेछ ।’

