विराटनगर । काठमाडौँको कीर्तिपुरमा जेनजी अभियन्ता माजिद अन्सारीसहितका युवाहरू पक्राउ परेको विरोधमा मोरङमा पक्राउ परेका छविस जना युवाहरूलाई प्रहरीले अभिभावकको जिम्मामा रिहा गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको मुलगेट अगाडि रात्रिकालीन धर्ना दिने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
असार सत्ताइस गते राति अन्दाजी साढे नौ बजे, काठमाडौँको कीर्तिपुर होल्डिङ सेन्टरमा भएको धरपकडको विरोध गर्दै २५–३० जना युवाहरू भेला भई धर्नामा बसेका थिए।
प्रहरीले सम्झाई-बुझाई गर्दा समेत अटेर गरी काम कारबाही र सवारी साधन आवतजावतमा बाधा पुर्याएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएकाहरूमा सप्तरी राजविराजका सत्र वर्षीय अमरेश माली, बाइस वर्षीय कृष्ण यादव, विराटनगर–४ का इक्किस वर्षीय मो. दिल, र सुनसरी देवानगञ्ज–२ का अठ्ठाइस वर्षीय मो. अकबर लगायत २६ जना थिए। अनुसन्धानपश्चात् प्रहरीले उनीहरू सबैलाई अभिभावकको जिम्मा लगाएर रिहा गरेको छ।
यसअघि शनिबार काठमाडौँको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडितको उद्धार र सहयोगका लागि पुगेका जेनजी अभियन्ताहरू माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालाई काठमाडौँ प्रहरीले नियन्त्रणमा लिएको थियो। बागमती नदीको बाढीले होल्डिङ सेन्टर डुबानमा परेपछि पीडितहरूलाई सघाउन पुगेका युवाहरूले होल्डिङ सेन्टरमा होहल्ला गरेको आरोप काठमाडौँ प्रहरीको छ।
प्रहरीले ती अभियन्ताहरूलाई नियन्त्रणमा लिने क्रममा लछारपछार र धक्कामुक्का गरेको तथा अभियन्ता माजिद अन्सारीमाथि कुटपिट समेत गरेको आरोप लागेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा अन्सारीको अनुहारबाट रगत बगिरहेको देखिएको छ भने अर्का अभियन्ता अमीत उर्जाले पनि अन्सारीको अनुहारमा गम्भीर चोट लागेको पुष्टि गरेका छन्।


