नोट: यो समाचार १ महिना अघिको हो
काठमाडौँ । सहआयोजक क्यानडाले फिफा विश्वकप २०२६ मा इतिहास रच्दै पहिलोपटक प्रिक्वार्टरफाइनल (अन्तिम–१६) मा स्थान सुरक्षित गरेको छ।
लस एन्जलस रंगशालामा सम्पन्न पहिलो नकआउट खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो।
खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि दोस्रो हाफको इन्जुरी समयमा स्टेफेन युस्टाकियोले निर्णायक गोल गर्दै क्यानडालाई ऐतिहासिक जित दिलाए।
बल नियन्त्रणमा दक्षिण अफ्रिका केही हदसम्म प्रभावशाली देखिए पनि गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन। उत्कृष्ट प्रदर्शन गरेका युस्टाकियो खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।
यो क्यानडाको तेस्रो विश्वकप सहभागिता हो। यसअघि खेलेका दुवै संस्करणमा क्यानडा समूह चरणबाटै बाहिरिएको थियो। यसपटक भने अन्तिम–१६ मा पुग्दै टोलीले नयाँ इतिहास रचेको छ।
