काठमाडौं । विश्वकप फुटबलमा कोलम्बियाले शानदार सुरुआत गरेको छ। मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै कोलम्बियाले प्रतियोगितामा विजयी यात्रा थालेको हो।
खेलको पहिलो हाफमा ड्यानियल मेन्जोले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० को स्थितिमा सकिएको थियो।
दोस्रो हाफको ६०औँ मिनेटमा अब्बोसेक फैजुलेभले गोल गर्दै उज्बेकिस्तानका लागि विश्वकप इतिहासकै पहिलो गोल दर्ता गरे। उक्त गोलसँगै खेल १–१ को बराबरीमा पुगेको थियो।
तर, बराबरी लामो समय टिक्न सकेन। ६५औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई पुनः अग्रता दिलाए। त्यसपछि खेलको अन्तिम समयमा ज्यामिन्ट क्याम्पाजले अर्को गोल थप्दै कोलम्बियाको जित सुनिश्चित गरे।
यस जितसँगै कोलम्बियाले महत्वपूर्ण तीन अंक जोडेको छ।
यसअघि सम्पन्न अन्य खेलमा पोर्चुगल र डीआर कंगोले १–१ को बराबरी खेले। इंग्ल्याण्डले क्रोएसियामाथि ४–२ को प्रभावशाली जित दर्ता गर्दा घानाले पानामालाई १–० ले पराजित गरेको थियो।


