फायल फोटो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभरका ६०९ पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार हालसम्म ४ हजार ३६३ वडा, ६०९ पालिका तथा ६४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ।
अधिवेशन हुन बाँकी रहेका जिल्लामा कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाही रहेका छन्।
त्यस्तै, अधिवेशन प्रक्रिया सुरु भएर विभिन्न कारणले स्थगित भएका जिल्लामा सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहट रहेका बुर्लाकोटीले जानकारी दिए।
प्रदेशगत रूपमा हेर्दा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिवेशन सम्पन्न भइसकेका छन्। मधेस प्रदेशको अधिवेशन स्थगित रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिवेशन प्रक्रिया जारी छ।
बुर्लाकोटीका अनुसार रास्वपाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने तयारी तीव्र रूपमा अघि बढाइएको छ।
