विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको ऐतिहासिक पहिलो जिल्ला अधिवेशन सम्पन्न भएको छ।
विराटनगरमा भएको यस अधिवेशनबाट पार्टीको संस्थापक सभापति समेत रहेका भरत कँडेल आफ्ना प्रतिस्पर्धीहरूलाई ठूलो मतान्तरले पछि पार्दै पुनः मोरङको जिल्ला सभापतिमा चयन भएका छन्।
शिक्षण पेशाबाट राजनीतिमा आएका कँडेलले कुल ४८६ मतमध्ये २८३ मत प्राप्त गरे。 उनका निकटतम प्रतिस्पर्धी कोषराज खनालले १३४ मत र अर्का उम्मेदवार शैक्षिक व्यवसायी सागर फुयाँलले ५६ मत प्राप्त गरे। पराजित खनाल वैदेशिक रोजगारीबाट फर्केपछि पार्टी स्थापनाकालदेखि नै सक्रिय सदस्य हुन्।
पार्टीको उपाध्यक्ष पदमा बिमला बस्नेत निर्विरोध निर्वाचित भइसकेकी थिइन्। सचिव पदमा भने तीव्र प्रतिस्पर्धाका बीच दिवस नेपाल १३० मत ल्याएर विजयी भए।
उनका निकटतम उम्मेदवार ई. सुरेश श्रेष्ठले १२४ मत, बुद्धिनाथ अधिकारीले ११९ मत र कुमार खुलालले १०३ मत पाए। विजयी बनेका दिवस नेपाल पहिले नेपाली कांग्रेस विराटनगर महानगरका उपसचिव थिए, जो ‘जेन्जी आन्दोलन’ पछि रास्वपामा आबद्ध भएका हुन्।
त्यसैगरी सह-सचिव पदमा सिर्जना गिरी ३२३ मतको भारी बहुमतसहित विजयी भइन् भने उनका प्रतिस्पर्धी सन्तोष सिंहले १४६ मत प्राप्त गरे।
चार जना जिल्ला कार्यसमिति सदस्यका लागि ६ जनाबीच चुनावी प्रतिस्पर्धा भएको थियो। जसमा भावना बस्नेत श्रेष्ठ २९४ मत, युवराज ओझा २५८ मत, ओम प्रकाश श्रेष्ठ २५७ मत र लक्ष्मी श्रेष्ठ १९६ मतका साथ विजयी भए।
अन्य उम्मेदवारहरूमा परमेश्वर साहले १८१ मत तथा महेश कुमार खनाल र युवराज कार्कीले समान १५७ मत पाएका थिए।
रास्वपाको विधानअनुसार ९ सदस्यीय जिल्ला कार्यसमितिमा पदाधिकारीसहित निर्वाचित सदस्यहरू रहनेछन्। कोषाध्यक्षको चयन भने पछि गरिने व्यवस्था छ।
यस समितिमा दुई जना सदस्य मनोनित हुनेछन् र पालिका सभापतिहरू स्वतः सदस्य रहनेछन्। जिल्ला अधिवेशन सम्पन्न गरेसँगै रास्वपा मोरङले क्षेत्रीय सभापतिहरूको चयन प्रक्रियालाई पनि अघि बढाएको छ।
