Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

युक्रेनमाथिको दूरी बन्देज हट्यो, के अब हान्ला अझ शक्तिशाली मिसाईल ?

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बुधबार, जेठ १४, २०८२  | बिहान ७:३० बजे

रुस । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध रोक्न नमानेर उल्टै युक्रेनमाथि भिषण आक्रमण गर्न थालेपछि अमेरिका लगायत पश्चिमा राष्ट्रले आफूले दिएको हतियार प्रयोगमा युक्रेनलाई लगाएको दुरीसम्बन्धी सबै बन्देज हटाएका छन्।

जर्मनी, बेलायत, फ्रान्स र अमेरिका लगायत युक्रेनलाई सहायता गरिरहेका पश्चिमा देशहरूले रूसबाट आफूलाई जोगाउनका लागि युक्रेनमाथि हतियार प्रयोगमा लगाएको दुरीजन्य बन्देज हटाएको जर्मन चान्सलर फ्रेडरिक मर्जले खुलासा गरेका छन्।

बिज्ञापन

‘युक्रेनलाई आपूर्ति गरिएका हतियारहरूमा अब कुनै दुरीजन्य प्रतिबन्धहरू छैनन्। न त बेलायती, न त फ्रान्सेली, न त हाम्रो, न त अमेरिकी,’ रूसले युक्रेनमाथि सबभन्दा ठूलो ड्रोन आक्रमण गरेपछि मर्जले बताएको भनेर विभिन्न पश्चिमा मिडियाले लेखेका छन्।

‘यसको मतलब युक्रेनले अब आफ्नो रक्षा गर्न सक्छ। उदाहरणका लागि, रूसमा रहेका सैन्य संरचनामा आक्रमण गरेर। केही अपवादहरू बाहेक, हालसम्म युक्रेनले त्यसो गरेको थिएन। अब उसले त्यसो गर्न सक्छ,’ मर्जले प्रष्ट पारे।

रूसले सो निर्णयलाई खतरनाक भन्दै यसले कुनै पनि प्रकारको शान्ति सम्झौतामा बाधा पार्ने बतायो।

‘यदि यी निर्णयहरू वास्तवमै गरिएका छन् भने ती हाम्रो राजनीतिक समाधानको आकांक्षासँग पूर्ण रूपमा बाँझिन्छन्,’ रूसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने।

पूर्वअमेरिकी राष्ट्रपति बाइडेनको पालामा अमेरिकाले हतियार दिँदा सुरूमा युक्रेनलाई आफ्नो हतियार रूसी भूमिभित्र प्रयोग नगर्ने सर्त राखेर दिने गर्थ्यो। त्यस्तो अनुमति दिए रूसले पश्चिमाहरूमाथि नै प्रहार गर्ने वा युक्रेनमाथि आणविक हतियार प्रयोग गर्न सक्ने डरका कारण बाइडेनले अनुमति दिएका थिएनन्।

त्यसपछि गत वर्ष मे महिनाको अन्त्यमा मात्रै अमेरिकी हतियार प्रयोग गरेर रूसी भूमिमा आक्रमण गर्न युक्रेनलाई बाइडेनले अनुमति दिएका थिए। त्यस्तो अनुमति दिँदा पनि खार्किभ वरिपरि जम्मा भएर आक्रमण गरिरहेका र गर्न लागेका सेनामाथि मात्रै प्रयोग गर्ने सर्तमा दिएको थियो।

गत वर्षको अन्त्यमा उत्तर कोरियाका १० हजारभन्दा बढी सैनिक रूसका तर्फबाट लड्ने पक्का भएपछि बाइडेनले अन्ततः उनीहरू र रूसी सेनालाई निशाना बनाएर युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिएका थिए। त्यसो गर्दा पनि कति टाढा प्रहार गर्ने भन्ने सीमा हुन्थ्यो र अमेरिकाको अनुमति लिएर मात्रै युक्रेनले ती हतियार प्रयोग गर्थ्यो। अरू पश्चिमा राष्ट्रले पनि अमेरिकी सरकारले लिने नीति अनुसार नै अनुमति दिने गर्थे।

अब भने युक्रनेलाई दुरीजन्य केही पनि बन्देज हुने छैन।

अहिलेसम्म अमेरिकाले करिब ३०० किलोमिटर ९१९० माइल टाढासम्म प्रहार गर्न मिल्ने आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (अट्याक एम्स) दिएको छ। त्यस्तै बेलायत र फ्रान्सले पनि २५०(३०० किलोमिटर टाढासम्म प्रहार गर्न मिल्ने स्टर्म सेडो र स्काल्प मिसाइल दिएका छन्।

युक्रेनले जर्मनीमा बनेको टोरस मिसाइल पनि लामो समयदेखि माग गरिरहेको छ। यसले ५०० किलोमिटरसम्म प्रहार गर्न सक्छ। अहिलेसम्म जर्मनीले युक्रेनलाई टोरस मिसाइल दिएको खुलेको छैन। तर मर्जले दुरीजन्य बन्देज हटाएको भनेकाले टोरस मिसाइल दिइसकेको अनुमान गरिएको छ। यो मिसाइल जर्मनीले दिएको हो भने युक्रेनका केही भागदेखि रूसको राजधानी मस्कोसम्म प्रहार गर्न सक्नेछ।

दुरीसम्बन्धी बन्देज हटाएपछि पश्चिमा राष्ट्रले युक्रेनलाई अझ शक्तिशाली र लामो दुरीका हतियार पनि दिने अपेक्षा गरिएको छ। तर त्यसबारे भने मर्जले केही पनि खुलाएनन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी पुटिनसँग मे १९ मा फोनमा कुरा गरेपछि युद्ध रोकिने धेरैले अपेक्षा गरेका थिए। तर ट्रम्पले दुई घण्टा फोनमा कुरा गरे पनि पुटिनलाई युक्रेनसँगको युद्ध रोक्न मनाउन सकेनन् र रूसले युक्रेनमा तत्काल युद्धविराम घोषणा गर्नुपर्ने आफ्नो मागबाट ट्रम्प पछि हटे।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka