विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्याट बिल लिने–दिने संस्कृतिलाई प्रोत्साहन गर्न सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताएका छन्।
यसअन्तर्गत वस्तु तथा सेवाको खरिद–बिक्रीमा जारी हुने प्रत्येक भ्याट बिल स्वतः लट्री टिकटमा रूपान्तरण हुनेछ।
बजेटपछि आइतबार पत्रकारहरूसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले लट्री कार्यक्रममार्फत दैनिक रूपमा सर्वसाधारणलाई नगद पुरस्कार प्रदान गर्ने योजना रहेको जानकारी दिए। उनले विदेशबाट रेमिट्यान्स पठाउने नेपालीहरूलाई पनि यस योजनामा सहभागी गराइने बताए।
उनका अनुसार नेपालजस्तो विकासोन्मुख मुलुकमा आयकरबाट मात्र ठूलो राजस्व संकलन गर्न कठिन भएकाले सरकारले उपभोगमा आधारित कर प्रणालीलाई प्राथमिकता दिएको हो। मध्यम वर्गमाथि अतिरिक्त करभार नपारिएको उल्लेख गर्दै उनले वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुने व्यक्तिका लागि आयकर दर १ प्रतिशत मात्र कायम गरिएको बताए।
अर्थमन्त्री वाग्लेले नेपालमा अनौपचारिक अर्थतन्त्रको हिस्सा अझै उच्च रहेकाले आयकरबाट तत्काल ठूलो राजस्व वृद्धि सम्भव नभएको बताए। भविष्यमा प्रतिव्यक्ति आय बढ्दै जाँदा आयकर र उपभोग करबीच सन्तुलन कायम गरिने उनको भनाइ छ।
सरकारको विश्वास छ कि भ्याट बिलमा आधारित लट्री योजनाले बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्नुका साथै कर छली नियन्त्रण र राजस्व संकलनमा सकारात्मक योगदान पुर्याउनेछ।
