काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा पुनः देखिएको अत्यधिक भीडले यसको वहन क्षमता, सुरक्षा र नियमनबारे गम्भीर प्रश्न उठाएको छ । यस वर्षको वसन्तकालीन आरोहण सिजनमा क्याम्प–३ देखि क्याम्प–४ सम्मको साँघुरो बाटोमा सयौं आरोहीको भीड देखिएपछि सगरमाथामा ‘ट्राफिक जाम’ को बहस फेरि चर्किएको हो ।
यसैसाता सामाजिक सञ्जालमा भाइरल बनेको ड्रोन भिडियो र तस्बिरहरूमा क्याम्प–३ र क्याम्प–४ बीचको रुटमा लामबद्ध रूपमा आरोहीहरू अघि बढिरहेको दृश्य देखिएको छ । आरोहण कम्पनीहरूका अनुसार, एकै समयमा उक्त क्षेत्रमा ३०० भन्दा बढी मानिस उपस्थित थिए ।
२० मे मा मात्रै नेपालतर्फबाट २७० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । यसले ८,८४८.८६ मिटर अग्लो हिमालमा सुरक्षा, व्यवस्थापन र भीड नियन्त्रणको विषयलाई पुनः बहसमा ल्याएको छ ।
पर्यटन विभागकी निर्देशक निशा थापा राउतले आरोहीको यकिन संख्या संकलन भइरहेको बताउँदै विगतका वर्षहरूसँग तुलना गर्दा यो संख्या असामान्य नभएको संकेत गरिन् ।
यस वर्ष देखिएको भीडले सन् २०१९ को चर्चित ‘सगरमाथा ट्राफिक जाम’ को सम्झना गराएको छ । त्यतिबेला पर्वतारोही निर्मल पुर्जाले हिलारी स्टेप नजिक लामबद्ध आरोहीहरूको तस्बिर सार्वजनिक गरेका थिए । मौसम छोटो समय मात्रै अनुकूल हुँदा एकैपटक ठूलो संख्यामा आरोही शिखरतर्फ लागेका कारण कम्तीमा तीन जनाको ज्यान गएको थियो ।
गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार, सन् २०१९ को मे २३ मा नेपाल र तिब्बत दुवैतर्फबाट गरेर एकैदिन ३५४ जनाले सगरमाथा आरोहण गरेका थिए, जुन हालसम्मको कीर्तिमान हो ।
यसपटक पनि एकैदिन ठूलो संख्यामा आरोहीले शिखर चुमेपछि काठमाडौंमा उत्साह मनाइए पनि हिमालबाट आएका तस्बिरहरूले सरकारले एकैदिन सयौं आरोहीलाई अनुमति दिनु उपयुक्त हो कि होइन भन्ने प्रश्न उठाएका छन् ।
३२औं पटक सगरमाथा आरोहण गरेर फर्किएका अनुभवी आरोही कामीरिता शेर्पाले यस वर्ष हिमालमा अत्यधिक भीड भएको बताएका छन् । “यसपटक निकै भीड थियो । गएको वर्षभन्दा धेरै मानिसहरू थिए,” उनले काठमाडौं आइपुगेपछि भने, “यसलाई केही नियन्त्रण गर्नुपर्ने देखिन्छ ।”
बढ्दो भीड, प्रदूषण र सुरक्षा जोखिमलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले सन् २०२४ अप्रिलमै सरकारलाई सगरमाथासहित अन्य हिमालहरूमा आरोही संख्या नियमन गर्न आदेश दिएको थियो ।
हालैका वर्षहरूमा सगरमाथामा देखिने भीड, फोहोर व्यवस्थापनको समस्या र छोटो मौसममा शिखर पुग्ने होडका कारण मानवीय क्षति बढेको भन्दै आलोचना हुँदै आएको छ ।
यसैसाता सगरमाथा आरोहणपछि फर्किने क्रममा दुई भारतीय आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ । एकजनाको क्याम्प–२ मा र अर्काको हिलारी स्टेप नजिक मृत्यु भएको हो । दुवैले गत बिहीबार शिखर चुमेका थिए ।
अधिकारीहरूका अनुसार मृत्युको यकिन कारण खुलिनसके पनि अत्यधिक थकान र शारीरिक कमजोरी मुख्य कारण हुनसक्ने अनुमान गरिएको छ । यससँगै, अप्रिलदेखि सुरु भएको यस वर्षको आरोहण सिजनमा सगरमाथामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले सगरमाथाको वहन क्षमता र सुरक्षा अवस्थाका आधारमा आरोही संख्या निर्धारण गर्न सरकारलाई निर्देशन दिएको थियो ।
सगरमाथा ‘विश्वकै सबैभन्दा अग्लो फोहोरको थुप्रो’ बन्दै गएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरिरहेका बेला अदालतको आदेश आएको हो ।
पर्यटन विभागकी निर्देशक राउतले भने, “हामी सर्वोच्च अदालतको आदेशप्रति पूर्ण रूपमा सचेत छौं । तर, अहिले आरोहण अनुमतिपत्र सीमित गर्ने स्पष्ट कानुनी व्यवस्था छैन ।”
उनका अनुसार सगरमाथा आरोहण मौसममा अत्यधिक निर्भर हुन्छ । “३६५ दिनमध्ये मौसम अनुकूल हुने करिब १५ दिन वा त्योभन्दा कम समय मात्रै आरोहण सम्भव हुन्छ,” उनले भनिन् ।
यसैबीच, राष्ट्रिय सभाले गत फेब्रुअरी ९ मा ‘एकीकृत पर्यटन विधेयक’ पारित गरेको छ । विधेयकमा पर्वतारोहणसम्बन्धी कडा नियम, सुरक्षा तथा बीमा प्रावधान र हिमाल सफा राख्न स्थायी वातावरणीय कोषको व्यवस्था गरिएको छ । अब यो विधेयक प्रतिनिधिसभामा छलफलका लागि जानेछ ।
प्रस्तावित कानुनअनुसार सगरमाथा आरोहण अनुमति लिनुअघि आरोहीले नेपालमा कम्तीमा ७,००० मिटरभन्दा अग्लो हिमाल सफलतापूर्वक आरोहण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । अधिकारीहरूका अनुसार अनुभवहीन आरोहीका कारण भीड, दुर्घटना र उद्धार कार्यमा दबाब बढ्ने भएकाले यस्तो प्रावधान ल्याइएको हो ।
विधेयकमा आरोहण सिजन, अनुमतिपत्रका सर्त, आवेदन शुल्क, स्वास्थ्य प्रमाणपत्र र आरोहण मापदण्डसम्बन्धी व्यवस्था पनि समेटिएको छ ।
यस वर्षको आरोहण सिजन सुरुदेखि नै चुनौतीपूर्ण बनेको थियो । खुम्बु आइसफलमा रहेको ठूलो र अस्थिर ‘सेराक’ का कारण क्याम्प–१ जाने मार्ग अवरुद्ध हुँदा झण्डै तीन साता आरोहण रोकिएको थियो ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार, उक्त सेराक ५५ मिटर लामो, ३७ मिटर चौडा र २८ मिटर अग्लो थियो । त्यसमा रहेका गहिरा चिराहरूका कारण क्षेत्र अत्यन्त जोखिमपूर्ण बनेको थियो ।
१९ दिनपछि अप्रिल २८ मा आइसफल मार्ग खुलेपछि मात्रै बेस क्याम्पमा रोकिएका आरोहीहरू माथि उक्लिन थालेका थिए ।
सगरमाथा बेस क्याम्पमा खटिएका सरकारी प्रतिनिधि ज्ञानेन्द्र श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमालको अवस्था तीव्र रूपमा बदलिएको बताए । “मे महिनाको तेस्रो सातासम्म क्याम्प–२ मा खोला बग्न थाल्छ । कहिलेकाहीँ बेस क्याम्पमै पानी बग्छ, जुन पहिले असामान्य मानिन्थ्यो,” उनले भने ।
उनले डोरी टाँग्ने र भर्याङ राख्ने काम अप्रिलको मध्यसम्म सकिने भएकाले आरोहण गतिविधि अप्रिलको अन्त्यतिरै सुरु गर्न सकिने सुझाव दिए । “मे महिनाको मध्यसम्म किन पर्खने ? यो काम अप्रिलमै गर्न सकिन्छ,” उनले भने ।
