काठमाडौं । इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार डेइर कानौन शहरमा भएको आक्रमणमा तीन बालबालिका र तीन महिलासहित १० जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी नाबाटिएह र टायर जिल्लामा भएका छुट्टाछुट्टै आक्रमणमा थप नौ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
यो घटना अमेरिकाको पहलमा लेबनान र इजरायलबीच ४५ दिनका लागि युद्धविराम थप गर्ने सहमति भएको एक साताभित्रै भएको हो । युद्धविराम लागू रहेको दाबी गरिए पनि दक्षिणी लेबनान क्षेत्रमा इजरायल र हिजबुल्लाहबीच लगातार तनाव र गोली हानाहान जारी छ ।
इजरायलले आफ्ना आक्रमण हिजबुल्लाहलाई लक्षित गरिएको दाबी गर्दै आएको छ । तर पछिल्ला घटनामा महिला र बालबालिकासहित सर्वसाधारण पनि मारिएका छन् ।
यता हिजबुल्लाहले पनि उत्तरी इजरायलका बस्ती तथा दक्षिणी लेबनानमा रहेका इजरायली सैनिकमाथि रकेट र ड्रोन आक्रमण जारी राखेको छ । मंगलबार हिजबुल्लाहको आक्रमणमा एक इजरायली सैनिकको मृत्यु भएको थियो ।
