विराटनगर । विराटनगर महानगरपालिकाको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिको बैठक सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन २०८० को दफा २१ बमोजिम गठित समितिकी संयोजक तथा उपमेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतम, विराट व्यापार संघका अध्यक्ष प्रमोद अग्रवाल, मोरङ उद्योग व्यापार संघका कार्यकारी अधिकृत भरत शर्मा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरकी सावित्री न्यौपाने, महानगर प्रहरी प्रमुख राजन पौडेललगायत विभिन्न उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बैठकले बजार अनुगमनलाई थप प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकमा बोल्दै उपमेयर कार्कीले व्यवसाय गर्ने हरेक व्यक्तिले सम्बन्धित ऐन तथा कानुनको जानकारी राख्नुपर्नेमा जोड दिँदै गल्ती गर्नेलाई कुनै पनि हालतमा छुट नदिइने स्पष्ट पारिन् ।
उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिहरुले बजारमा गुणस्तर, तौल र मूल्यका विषयमा उपभोक्ता ठगिने गरेको गुनासो गर्दै नियमित तथा कडाइका साथ अनुगमन गर्न माग गरेका थिए ।
