विराटनगर । दिल्ली पब्लिक स्कुल विराटनगरले आयोजना गरेको “डिपिएस क्विज एसईई २०२६” का विजेताहरूलाई भव्य कार्यक्रम आयोजना गरि नगद तथा ट्रफी(पुरस्कार) वितरण गरिएको छ ।
विद्यार्थीहरूमा बौद्धिक क्षमता, प्रतिस्पर्धात्मक भावना तथा नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा मोरङ्ग र सुनसरि जिल्लाका विभिन्न विद्यालयका १०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रतियोगिता छनौट चरण र ग्राण्ड फिनाले मा प्रारम्भिक चरणबाट छनोट भएका २६ जना विद्यार्थीहरूले अन्तिम चरणमा प्रतिस्पर्धा गरेका थिए।
अन्तिम चरण तथा पुरस्कार वितरण समारोह दिल्ली पब्लिक स्कुल परिसरमा सम्पन्न भएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १० जना विद्यार्थीहरूलाई सम्मानित गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा वालसन श्रेष्ठ प्रथम स्थान हासिल गर्न सफल भएका छन्। उनले नगद रु. १५,०००, ट्रफी, प्रमाणपत्र तथा कक्षा ११ मा अध्ययनका लागि १०० प्रतिशतसम्म छात्रवृत्ति प्राप्त गरेका छन्।
त्यसैगरी, आर्यन कार्की द्वितीय स्थान हासिल गर्दै नगद रु. १०,०००, ट्रफी, प्रमाणपत्र तथा कक्षा ११ मा १०० प्रतिशतसम्म छात्रवृत्ति प्राप्त गरेका छन्।
त्यस्तै, पियुस मिस्रा तृतीय स्थान हासिल गर्न सफल भएका छन्। उनले नगद रु. ७,०००, ट्रफी, प्रमाणपत्र तथा कक्षा ११ मा १०० प्रतिशतसम्म छात्रवृत्ति प्राप्त गरेका छन्।
यसैगरी चौथोदेखि दशौँ स्थानसम्म हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, प्रमाणपत्र तथा कक्षा ११ मा ५० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिएको आयोजक विद्यालयले जनाएको छ।
कार्यक्रममा सहभागी विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजक विद्यालयका अनुसार, यस्ता शैक्षिक प्रतियोगिताले विद्यार्थीहरूमा ज्ञान अभिवृद्धि गर्नुका साथै आत्मविश्वास र सकारात्मक प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।





