काठमाडौं । देशका विभिन्न क्षेत्रमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम छ।
विभागले दिउँसो कोसी र मधेस प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ। बाँकी तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।
कोसी प्रदेशलगायत अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका थोरै स्थानमा पनि यस्तै मौसम रहने विभागको पूर्वानुमान छ। केही उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने बताइएको छ।
यस्तै, बाँकी तराई भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ।
रातिको समयमा हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने विभागले जनाएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी मधेस प्रदेशसहित अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
