काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आफ्ना प्रतिनिधिमार्फत भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन् ।
आइतबार उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जारी छलफल सक्रिय रहेको उल्लेख गर्दै यसबाट सबै पक्षका लागि राम्रो नतिजा आउन सक्ने आशा व्यक्त गरेका हुन् । ट्रम्पको भनाइले वासिङटन र तेहरानबीच कूटनीतिक संवाद जारी रहेको संकेत गरेको छ ।
यसैबीच, अमेरिकी विशेष दूत स्टिभ विटकफले पनि दुई देशबीच वार्ता भइरहेको पुष्टि गरेका छन् । ट्रम्पको गल्फ क्लबमा आयोजित एक कार्यक्रममा उनले मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने सम्भावित उपाय खोज्ने उद्देश्यसहित छलफल भइरहेको जानकारी दिएका हुन् ।
यद्यपि ट्रम्पको पछिल्लो अभिव्यक्ति अघिल्ला भनाइभन्दा केही भिन्न देखिएको छ । एक दिनअघि मात्र उनले इरानले अघि सारेको प्रस्तावको कडा आलोचना गर्दै त्यसलाई स्वीकार गर्न नसकिने बताएका थिए । साथै, इरानले मानवताविरुद्धका कार्यको पर्याप्त मूल्य नचुकाएको टिप्पणीसमेत गरेका थिए ।
इरानले प्रस्तुत गरेको १४ बुँदे शान्ति प्रस्ताव खारेज गर्दै ट्रम्पले सैन्य अभियान प्रभावकारी रूपमा अघि बढिरहेको दाबी गरेका थिए ।
यसैबीच, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले पाकिस्तानमार्फत अमेरिकी पक्षको जवाफ प्राप्त भएको जानकारी दिएका छन् । उनले इरानले हाल अमेरिकी दृष्टिकोणको समीक्षा गरिरहेको र अन्तिम निर्णयपछि मात्र औपचारिक प्रतिक्रिया दिने बताएका छन् ।
