विराटनगर । शिक्षा, भाषा र सनातन संस्कृतिको संरक्षणमा सक्रिय संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति पुरस्कार–२०८३’ यस वर्ष धनकुटास्थित विश्रान्ति संस्कृत गुरुकुललाई प्रदान गरिएको छ।
सुनसरीको इटहरीमा रहेको सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल प्रतिष्ठानले धनकुटाको विश्रान्तिधाम मूलघाटमा आयोजित विशेष समारोहबीच गुरुकुललाई नगद २ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो।
प्रतिष्ठानका अनुसार गुरुकुलले परम्परागत गुरुकुलीय शिक्षालाई आधुनिक सन्दर्भसँग जोड्दै संस्कृत भाषा, धर्म–संस्कृति तथा नैतिक शिक्षाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले यस्ता संस्थालाई सम्मान गर्नु समाजका लागि दीर्घकालीन लगानी भएको उल्लेख गर्दै गुरुकुलीय शिक्षाले अनुशासित र नैतिक पुस्ता निर्माणमा योगदान दिने बताए। प्रतिष्ठानकी अध्यक्ष शान्ता रिजालले अक्षय कोषमार्फत प्रदान गरिने यो पुरस्कारले मौलिक शिक्षा र संस्कृतिको संरक्षणमा थप ऊर्जा दिने विश्वास व्यक्त गरिन्।
विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिले विश्रान्ति संस्कृत गुरुकुललाई छनोट गरेको हो। समितिमा लोचन रिजाल र राजु केसी सदस्य रहेका थिए।
२०७९ सालमा स्थापना भएको विश्रान्तिधाम गुरुकुलले वैदिक शिक्षा, संस्कृत भाषा प्रवर्द्धन, धार्मिक–सांस्कृतिक चेतना विस्तार तथा नयाँ पुस्तामा नैतिक मूल्य विकासमा निरन्तर काम गर्दै आएको छ। परम्परागत शिक्षाप्रतिको आकर्षण घटिरहेका बेला गुरुकुलको सक्रियता अझ महत्वपूर्ण मानिएको छ।
समारोहमा वरिष्ठ साहित्यकार प्रा.डा. गोपाल भण्डारी, प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, गुरुकुलका प्राचार्य दिनेशप्रसाद अधिकारी, सल्लाहकार स्वामी विजयानन्द सरस्वती, पूर्वअध्यक्ष विश्वप्रसाद रिजाल, पूर्वमहासचिव भैरव रिजाल, कार्यक्रम संयोजक टीका रिजाललगायतले गुरुकुलीय शिक्षाको महत्वबारे धारणा राखेका थिए।
सो अवसरमा आयोजित कविगोष्ठीमा विभिन्न कविहरूले समसामयिक विषयमा आफ्ना सिर्जना प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई सांस्कृतिक आयाम थपेको थियो।
प्रतिष्ठानले यसअघि पण्डित पुरुषोत्तम भट्टराई, वरिष्ठ कवि वैरागी काइँला र साहित्यकार दयाराम श्रेष्ठलाई सम्मान गरिसकेको छ। हरेक वर्ष वैशाख १५ गते प्रदान गरिने यो पुरस्कारले शिक्षा र संस्कृतिको संरक्षणमा योगदान पुर्याउने संस्था तथा व्यक्तिलाई राष्ट्रिय पहिचान दिलाउँदै आएको छ।
