काठमाडौं । श्रम संस्कृति पार्टीले सुकुमवासी बस्तीहरूको भत्काउने सरकारको कदमप्रति गम्भीर आपत्ति जनाएको छ।
पार्टीले यसलाई संविधानको उल्लङ्घन भएको भन्दै सरकारसँग यस्तो गतिविधि तत्काल रोक्न र उचित क्षतिपूर्तिसहित पुनर्बास र व्यवस्थापन गर्ने सुझाव दिएको छ।
पार्टीका अध्यक्ष हर्क साम्पाङले विज्ञप्ति जारी गर्दै भने, “सरकारले देशका विभिन्न स्थानमा रहेका सुकुमवासी बस्तिहरूमा गरीब जनताको घर भत्काइरहेको छ, जसले संविधानको धारा ३७ को उपधारा १ को उल्लङ्घन गर्दछ। यस्तो क्रियाकलाप तुरुन्त रोकिनुपर्छ र जनताको उचित पुनर्वास र व्यवस्थापन गर्नुपर्ने छ।”
अध्यक्ष साम्पाङले सरकारको व्यवहार निरंकुश भएको आरोप लगाउँदै भने, “जनताको घर भत्काउनु, उनीहरुलाई बेघर बनाउनु, धम्की दिनु, गालीगलौज गर्नु, लाठी र बन्दुक देखाएर डर डर्याउनु, र राज्य आतंक मच्चाउनु भनेको संविधानको धारा १६ को उपधारा १ को उल्लङ्घन हो। यसले सरकारको निरंकुश चरित्रलाई उजागर गरेको छ।” उनले यस्ता घटनाहरूले लोकतन्त्रको मूल्य र मान्यताहरूसमेत लत्याएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
