काठमाण्डौ । आज सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.१८ प्रतिशत अर्थात् ३३.८३ अंकले घटेर २ हजार ८३३ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९१ प्रतिशतले घटेर ४७७.४६ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३४२ वटा स्क्रिप्टका २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ९ अर्ब ३१ करोड २८ लाख रुपैयाँभन्दा बढी पुगेको छ।
आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘आज नेप्से दोहोरो अंकले घट्नु सामान्य करेक्सन नै मान्न सकिन्छ, केही दिनयता हाइड्रो समूह, फाइनान्स समूह र हिजो बैंकिङ समूह राम्रै बढ्दा लगानीकर्ताहरुले नाफा बुक पनि गरेका हुन सक्नछन् ।
साथै, केही दिनयता बजारमा खेलाडीहरु सक्रिय रहेको पनि अनुमान गर्न सकिन्छ, केही हाइड्रो कम्पनी र फाइनान्सका सेयरहरु अकस्मात उचालिदा केहीले राम्रै नाफा बुक गरेर बाहिरिएको अनुमान गरिएको छ, यसले पनि आज बजारमा करेक्सन देखिएको बुझ्न सकिन्छ ।
साथै, केही समय बजार साइड वेजमै रहेर २७५० र २८ सयको विन्दु आसपास बजार बस्न सक्ने देखिन्छ । अहिले बजारमा सर्ट टे«डरहरुले निश्चित स्क्रिप्ट छान्ने र छोटो समयमै सेयर बिक्री गर्ने प्रवृत्ति छ, जसकारण बजारमा भोल्युम पनि अपेक्षा गरिएअनुसार बढेको छैन ।
साथै बजारमा त्यति धेरै प्यानिक सेल पनि आएको छैन, अहिले कतिपय लगानीकर्ताहरु अझैपनि पर्ख र हेरको अवस्थामा नै छन्, यसकारण बजार २७ सय भन्दा तल पनि नजाला र २८५० भन्दा तत्कालै माथि जान पनि सम्भवन देखिदैन ।’
