विराटनगर । विराटनगरमा जारी ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगरस्थित शहीद रङ्गशालामा आइतबार राति सम्पन्न खेलमा पूर्वविजेता विभागीय टोली एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो ।
चर्च ब्वाइजको जितमा समीर तामाङले गरेको गोल नै निर्णायक बन्यो ।
खेलको २७ औँ मिनेटमा आशिष सोनामले मिलाइदिएको क्रस पासलाई समीरले आकर्षक गोलमा परिणत गरेका थिए । समीर खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद ११ हजार रुपैयाँ हात पारे ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको ४४ औँ मिनेटमा एपीएफका मणि कुमार लामाले डिबक्स भित्रबाट गरेको कडा प्रहार पोष्टको थोरै माथिबाट बाहिरिएको थियो ।
पहिलो हाफमा १–० गोलले पछि परेको एपीएफले दोस्रो हाफमा आक्रामक खेल पस्किए पनि गोल गर्न सकेन । ५० औँ मिनेटमा एपीएफका प्रदीप लामाको प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक दीप कार्कीले उत्कृष्ट बचाउ गरे । त्यस्तै ६३ औँ मिनेटमा सविन गुरुङको प्रहार पनि लक्ष्यहीन बन्यो ।
यता चर्च ब्वाइजका सुरज गौतमले ६९ औँ मिनेटमा गरेको प्रहार पोष्टमा लागेर फर्किएको थियो । गोल गर्ने आधा दर्जनभन्दा बढी सुन्दर अवसरहरू चुकाउँदा पूर्वविजेता एपीएफ पहिलो खेलबाटै बाहिरिन बाध्य भयो ।
एपीएफले २०७८ सालमा भारतीय टोली पन्जाब पुलिस क्लबलाई १–० ले पराजित गर्दै विराट गोल्डकपको उपाधि जितेको थियो । उपाधि दाबेदारका रूपमा हेरिएको एपीएफको यात्रा यसपटक भने क्वार्टरफाइनलमै सीमित भएको छ ।
प्रतियोगिता अन्तर्गत सोमबारको खेल विभागीय टोली नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीच हुनेछ ।
