विराटनगर । विराटनगरमा आयोजना हुँदै आएको प्रतिष्ठित फुटबल प्रतियोगिता विराट गोल्डकपको ३८ औँ संस्करणको तयारी तीव्र पारिएको छ। तर, प्रतियोगिता नजिकिँदै गर्दा पनि महानगरवासी अझै यसको बारेमा पर्याप्त जानकारी पाउन सकेका छैनन् ।
चैत २८ गतेबाट सुरु हुने गोल्डकपको प्रचार-प्रसार अपेक्षाकृत कमजोर देखिएको हो। आयोजक पक्षले तयारी गरिरहे पनि प्रभावकारी प्रचारको अभावका कारण विगत केही वर्षदेखि दर्शक संख्या घट्दै गएको स्थानीयको गुनासो छ। यस वर्षपनि सोही अवस्था दोहोरिने संकेत देखिएको छ।
कोरोना महामारीपछि आर्थिक घाटा सहँदै सञ्चालन हुँदै आएको प्रतियोगिता प्रचार–प्रसारकै कमजोरीका कारण पछि पर्दै गएको स्थानीय बताउँछन्। विराटनगर-८ का सागर दाहाल भन्छन्, “चैत २८ गतेबाट सुरु हुँदै रहेछ, मलाई त थाहा नै थिएन, तपाईंले भनेपछि मात्रै जानकारी पाएँ।”
यसपटकको प्रतियोगितामा कुल ८ टोली सहभागी हुनेछन्। जसमा नेपालका ४ क्लब, ३ विभागीय टोली र भारतको १ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। सहभागी टोलीहरूमा झापा ११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड, एपीएफ क्लब, सम्राट स्पोर्टिङ क्लब (विराटनगर) र भारतको अल झारखण्ड बिर्सा मुण्डा क्लब रहेका छन्।
प्रतियोगिता चैत २८ गतेदेखि वैशाख ५ गतेसम्म विराटनगरस्थित सहिद रंगशालामा सञ्चालन हुने छ। स्थानीय स्तरमा उत्साह जगाउने र दर्शकको उपस्थिति बढाउनेतर्फ आयोजकले थप ध्यान दिनुपर्ने देखिन्छ।
