विराटनगर । झापा ११ ले विराटनगरमा सम्पन्न ३८औं संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि दोस्रो पटक जितेको छ। आइतबार सहिद रंगशालामा भएको फाइनलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २–१ ले पराजित गर्दै झापाले उपाधि उचालेको हो।
जितसँगै झापाले ११ लाख रुपैयाँ पुरस्कार हात पार्यो भने उपविजेता सम्राट स्पोर्टिङ क्लबले ५ लाख रुपैयाँ प्राप्त गर्यो। यसअघि झापाले २०७१ सालमा पहिलोपटक यो प्रतियोगिता जितेको थियो।
फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ८१औं मिनेटमा राजेश दाहालले गोल गर्दै झापालाई अग्रता दिलाए। त्यसको केही समयपछि दिवस उराउले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे। सम्राटका सौरभ तामाङले इन्जुरी समयमा एक गोल फर्काए पनि हार टार्न सकेनन्।
खेलभर दुवै टोलीले अवसरहरू सिर्जना गरे पनि पहिलो हाफमा गोल हुन सकेन। दोस्रो हाफमा भने झापा आक्रामक देखिएको थियो। उत्कृष्ट प्रदर्शनका लागि राजेश दाहाल ‘प्लेयर अफ द म्याच’ घोषित भए।
प्रतियोगिताका अन्य विधागत पुरस्कारमा पनि झापाकै वर्चस्व रह्यो। फागुराम थारू सर्वाधिक गोलकर्ता बने भने विशाल सुनार उत्कृष्ट गोलरक्षक र सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए। सम्राटका अशोक खवास प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए।
चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतसहित ८ टोलीको सहभागिता रहेको थियो। विजेता र उपविजेता टोलीलाई विभिन्न विशिष्ट व्यक्तिहरूले पुरस्कार वितरण गरेका थिए।
