विराटनगर। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबारको सार्वजनिक बिदामा समेत ओपीडी -बहिरंग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
शुक्रबार जारी विज्ञप्तिमा मन्त्रालयले अस्पतालहरूको कार्यबोझ र उपलब्ध जनशक्तिको अवस्था मूल्यांकन गर्दै आइतबार पनि सेवा निरन्तरता दिन आग्रह गरेको हो।
निर्णयअनुसार आइतबार सेवा सञ्चालन गर्दा कर्मचारी व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेछ। आइतबार खटिने कर्मचारीलाई हप्तामा शनिबारबाहेक थप एक दिन बिदा दिई कुल दुई दिन विश्राम सुनिश्चित गर्न मन्त्रालयले निर्देशन दिएको छ।
विज्ञप्तिमा भनिएको छ कि यदि नियमित बिदा उपलब्ध गराउन नसकिने अवस्था आएमा सम्बन्धित कर्मचारीलाई अनिवार्य रूपमा सट्टा बिदा दिनुपर्ने व्यवस्था मिलाउनुपर्नेछ।
मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार संघीय मात्र नभई प्रादेशिक अस्पतालहरूमा समेत यो व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरिएको छ।
सरकारको यस निर्णयले आइतबार बिदाका कारण स्वास्थ्य सेवा लिन असहज हुँदै आएका सर्वसाधारणलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
