विराटनगर । गत साता नेप्से परिसूचक साढे ५ प्रतिशत घट्यो। अघिल्लो साता २९५०.१६ विन्दुमा बन्द भएको नेप्से, ५.६९ प्रतिशत अर्थात १६७.९८ अंक बढेर २७८२.१८ विन्दुमा बन्द भएको थियो। शेयर बजार घट्दै जाँदा लगानीकर्ताले खर्बौ रकम गुमाउन पुगेका छन् । तर, सरकारले शेयर बजारलाई स्थिर राख्न कुनै औजार प्रयोग गरेको नदेखिएको लगानीकर्ताको भनाई छ । तर, बजार घट्दासमेत सरकारको अबको नीति के हुने भन्ने प्रस्ट छैन् ।
साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो। यो साता पहिलो दिन(आइतबार) नै एकसय भन्दा बढी अंक शेयर बजार घटेपछि लगानीकर्ताहरु अत्तालिएका छन् । उनीहरुले पहिले लगानीकर्ता समेत रहेका र लगानीकर्ताको पिरमर्का बुझ्ने भनेर चिनिएका रास्वपाका सांसदहरुको समेत साथ खोजेका छन् । हरि ढकाल आफै लगानीकर्ता हुन ।
उनी अहिले पनि रास्वपाका सांसद छन् । रोहन कार्कीसमेत शेयर बजारका लागि सकारात्मक रुपमा भूमिका खेल्ने नेता मानिन्छन् । तर, उनीहरुको अहिलेको भूमिका के हो भनेर प्रश्न गर्न थालेका छन् । शेयर बजारमा लगातार पहिरो जान थालेपछि लगानी गुमाउने अवस्था अन्त्य गर्न सरकार र सरोकारवालाले किन चासो दिएका छैनन् भन्ने जिज्ञासा पनि उठ्न शुरु भएको छ । बालेन नेतृत्वको स्थिर सरकार गठन भएसँगै शेयर बजार भने खस्किदै जानेकुरा धेरैले सोचेकै थिएनन् । तर, बजार सम्हालिन सकेको छैन् ।
बजारको ट्रेन्ड हेर्दा अघिल्लो साता नेप्से परिसूचक बढेर २९६० विन्दुमा पुगेपछि यस साताको सुरुवातदेखि नै लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेको देखिन्छ। जसले गर्दा साताका पहिलो दुई कारोबार दिन नेप्से उच्च अंक घटेको थियो। त्यस्तै, गत बुधबार नेप्सेले लामो रातो मैनबत्ती बनाएको थियो भने साप्ताहिक रुपमा पनि नेप्सेले बियरिश मैनबत्ती नै बनाएको छ। यसले गत साता नेप्सेमा बिक्रीकर्ता हाबी रहेको संकेत गरेको छ ।
नेप्से परिसूचक घटेर सो साताको टेवा क्षेत्र अर्थात २८०० देखि २८६० को क्षेत्रभन्दा तल बन्द भएको छ। यस अनुसार, हाल सो क्षेत्र नेप्सेको लागि प्रतिरोध क्षेत्र बनेको छ। आइतबार पनि नेप्सेले पुनः ओरालो यात्रालाई निरन्तरता दिएर २६७६.६८ विन्दुमा अडिएपछि बजार अझ ओर्लिने त्रासमा लगानीकर्ता रहेको देखिन्छ ।
दीर्घकालीन रूपमा बजारको प्रवृत्ति भुक्तानी सन्तुलन (बीओपी), ब्याजदर, मुद्रास्फीति र तरलता जस्ता आधारभूत आर्थिक सूचकहरूले निर्धारण गर्ने भए पनि अल्पकालीन उतारचढाव भने लगानीकर्ताको मनोवृत्तिले बढी प्रभावित हुन्छ। यस सन्दर्भमा अर्थमन्त्रीको नियुक्ति बजारका लागि छोटो अवधिको महत्वपूर्ण उत्प्रेरक बन्ने गरेको देखिन्छ।
विगतमा आठवटा अर्थमन्त्री परिवर्तनलाई विश्लेषण गर्दै तिनले नेप्से सूचकमा समेत प्रभाव पारेका थिए । समग्र आर्थिक अवस्था बजारको आधार तयार पार्ने कारक भएपनि अर्थमन्त्रीको विचारधारा र नीतिगत दृष्टिकोणले लगानीकर्ताको विश्वासमा प्रत्यक्ष प्रभाव पार्दै बजारलाई चलायमान बनाउने काम गर्छ। यस पटक नयाँ सरकार र अर्थतन्त्र बुझेका अर्थमन्त्री स्वर्णिम वाग्ले नियुक्त भएपछि बजार बढेर जाने धेरैको अनुमान थियो । तर, विपरीत हुन पुग्यो । लगानीकर्ताको प्रश्न छ- नयाँ अर्थमन्त्री बजार सुदृढ गर्न के गरिरहेका छन् ?
अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्ययोजना ल्याउने तयारी गरेको बताइको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसद र अगुवा लगानीकर्तासँगको समन्वयमा उनले बजारका समस्या प्रत्यक्ष सम्बोधन हुने गरी सुधार योजना तयार गरिरहेका हुन्। बालेन शाह नेतृत्वमा सरकार गठन भएपछि निरन्तर ओरालो लागेको बजार अवस्थाबारे चासो बढेसँगै रास्वपाका नेताहरूले लगानीकर्ताको आवाज अर्थमन्त्रीसम्म पुर्याएका थिए।
लगानीकर्ताले पूँजीबजारका समस्या स्पष्ट रूपमा समाधान गर्न सरकार अघि बढ्नुपर्ने माग गर्दै अर्थमन्त्रीसँग लगातार संवाद गर्दै आएका छन्। सो क्रममा अर्थमन्त्रीले सुझाव मागेपछि विभिन्न सरोकारवाला निकायबाट सुधारका प्रस्ताव मन्त्रालयमा पुगेको बताइएको छ ।
अर्थमन्त्रालय स्रोतका अनुसार हालसम्म करिब १४ बुँदे सुधार योजना तयार भइसकेको छ। केही बुँदा थप गरी छिट्टै कार्यान्वयनका लागि वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखालाई निर्देशन दिने तयारी भइरहेको जनाइएको छ।
स्रोतका अनुसार अर्थमन्त्रीले सम्बन्धित विभागका अधिकारीलाई बोलाएर नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्जलगायत निकायसँग छलफल अघि बढाउन निर्देशन दिइसकेका छन्। उनी पूँजीबजारप्रति सकारात्मक रहेको र अनावश्यक हल्लाको पछि नलाग्न लगानीकर्तालाई आग्रह गरिएको छ।
रास्वपाका केही सांसदले पनि डा. वाग्लेलाई पूँजीबजारप्रति हालसम्मकै सहज अर्थमन्त्रीका रूपमा प्रस्तुत गरेका छन्। उनीहरूका अनुसार निजी क्षेत्रको मनोबल बढाउन र अर्थतन्त्र चलायमान बनाउन पूँजीबजारको भूमिका महत्त्वपूर्ण रहेकोमा अर्थमन्त्री स्पष्ट छन्।
यसैबीच, सरकारको १०० कार्यसूचीअन्तर्गत रहेको ४५ नम्बर बुँदाको गलत व्याख्या गरेर बजारमा त्रास सिर्जना गरिएको निष्कर्ष समेत निकालिएको छ। गलत गतिविधिमा संलग्नलाई नियमन गर्ने विषयलाई तोडमोड गरी लगानीकर्तालाई डर देखाउने काम भएको आरोपसमेत लगाइएको छ। रास्वपाका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री निकट लगानीकर्ता रोहन कार्कीले पनि उक्त बुँदाको गलत व्याख्याप्रति आपत्ति जनाउँदै पूँजीबजार सरकारको प्राथमिकतामा रहेको बताए।
सरकारले नेप्से पुनर्संरचना, धितोपत्र बोर्ड सुधार, एसएमई प्लेटफर्म सञ्चालन, मार्जिन कारोबार सुरु, अनलाइन प्रणाली विस्तार, गुनासो व्यवस्थापन सुधार, एनआरएनलाई दोस्रो बजारमा प्रवेश, अनलाइन एजीएम तथा भोटिङ व्यवस्था, सम्पत्ति विवरण अनिवार्य, र नियम उल्लंघन गर्ने कम्पनीलाई जरिवाना लगायतका कदम अघि बढाउने तयारी गरेको छ।
यी सुधारहरू कार्यान्वयनमा आएमा पूँजीबजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीकर्तामैत्री बनाउने अपेक्षा गरिएको छ।
