विराटनगर । चैत १३ गते नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण हुने तय भएको छ।
फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो। निर्वाचनअघि नै पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो र अहिले उनकै नेतृत्वमा सरकार गठनको तयारी भइरहेको छ।
राजधानीस्थित रोयल सिंगी होटलमा बसेको रास्वपाका नेताहरूको बैठकले सांसदहरूको शपथपछि तत्काल प्रधानमन्त्रीको शपथ गराउने निष्कर्ष निकालेको हो। पार्टी उपसभापति स्वर्णिम वाग्लेले चैत १३ गते प्रधानमन्त्रीको शपथ हुने पुष्टि गरेका छन्।
संघीय संसद सचिवालयले चैत १२ गते दिउँसो २ बजे सांसदहरूको शपथ कार्यक्रम राखेको छ। त्यसको भोलिपल्टै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउँदै प्रधानमन्त्रीको शपथ गराउने निर्णय रास्वपाले गरेको हो।
