काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित १८२ सांसदलाई ग्वार्कोमा आयोजित अभिमुखीकरण कार्यक्रममार्फत संसदीय अभ्यास, भूमिका र आचरणबारे प्रशिक्षण दिइएको छ।
कार्यक्रममा सांसदहरूले संसदमा बोल्ने तरिका, जनताको अपेक्षा अनुसार काम गर्ने जिम्मेवारी तथा न्याय पाउने अधिकारबारे जानकारी प्राप्त गरेका छन्।
पार्टीका वरिष्ठ नेताहरूले सांसदहरूलाई पदको गरिमा कायम राख्न, संविधान र कानुनको अध्ययन गर्न तथा भ्रष्टाचार अन्त्य गर्ने लक्ष्यका साथ काम गर्न निर्देशन दिएका छन्।
कार्यक्रममा सहभागी धेरै सांसदहरू एक–अर्कासँग पहिले प्रत्यक्ष रूपमा परिचित थिएनन्। सामाजिक सञ्जाल वा समाचारमार्फत देखेका उनीहरूलाई मंगलबार ग्वार्कोको एक होटलमा पहिलो पटक सामूहिक रूपमा भेटघाट गराइएको थियो। त्यहाँ उनीहरूले आपसमा चिनजान गर्दै अनुभव आदान–प्रदान गरे।
प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट गरी कुल १८२ सिट जितेर ठूलो दल बनेको रास्वपाले आफ्ना सांसदलाई संसदीय प्रक्रिया र जिम्मेवारीबारे बुझाउन यो अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।
मोरङ–६ बाट निर्वाचित सांसद रुबिना आचार्य का अनुसार कार्यशालाले सांसदहरूलाई एक–अर्कालाई चिन्न र अनुभव साझा गर्न अवसर दिएको छ। उनले विभिन्न क्षेत्रबाट आएका प्रतिनिधिहरूले नयाँ ऊर्जा र जनताको मुद्दा लिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
यस्तै, सर्लाही–१ बाट निर्वाचित सांसद नितिमा कार्की ले शपथ ग्रहणअघि भएको अभिमुखीकरणले संसदमा सांसदको भूमिका, बोल्ने शैली तथा कुन विषयमा वाचा गर्न मिल्छ वा मिल्दैन भन्नेबारे बुझ्न मद्दत गरेको बताइन्।
