विराटनगर । बुढीगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ मा सञ्चालन हुने विभिन्न रोजगारी कार्यक्रमका लागि बुढीगंगा गाउँपालिकाले बेरोजगार व्यक्तिहरूलाई सूचीमा सूचीकृत गर्न अत्यन्त सूचना जारी गरेको छ ।
गाउँपालिकाको रोजगार सेवा केन्द्रका अनुसार इच्छुक बेरोजगार व्यक्तिहरूले २०८२ साल चैत ३० गतेभित्र आफू स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको मितिभित्र प्राप्त भएका तथा वडा कार्यालयबाट प्रमाणित निवेदनलाई मात्र ईएमआईएस प्रणालीमा दर्ता गरिने जनाइएको छ ।
निवेदनका लागि नेपाल सरकारले तोकेको न्यूनतम पारिवारिक वार्षिक आयभन्दा कम आम्दानी भएका व्यक्तिहरू योग्य हुनेछन् । साथै, परिवारका सबै सदस्यहरूको विवरण, नागरिकताको प्रतिलिपि, पासपोर्ट साइज फोटो, आवश्यक परेमा बसाइँसराइ वा विवाह दर्ता प्रमाणपत्र तथा अपाङ्गता परिचयपत्र समेत पेश गर्नुपर्नेछ ।
सूचनाअनुसार आवेदकको उमेर १८ वर्ष पूरा भई ५९ वर्ष ननाघेको हुनुपर्नेछ भने बैंक खाताको विवरण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
निवेदनको ढाँचा सम्बन्धित वडा कार्यालयबाट निःशुल्क प्राप्त गर्न सकिनेछ । थप जानकारीका लागि गाउँपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
