Premier Cables
Premier Steel

राजनीति

नयाँ सरकार गठनबारे रवि र बालेनबीच छलफल, को-को बन्छन् मन्त्री ?

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २९, २०८२  | बिहान १०:२० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फको मतगणना सकिएको छ। सार्वजनिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुईतिहाइ जनमत प्राप्त गरेको देखिएको छ।

निर्वाचन आयोग का अनुसार प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जितेको छ भने समानुपातिकतर्फ ५१ लाख ४८ हजार २१७ मत प्राप्त गरेको छ। अन्तिम परिणाम आएपछि पार्टी नेतृत्व नयाँ सरकार गठनको तयारी र विज्ञहरूसँग परामर्शमा जुटेको छ।

विशेषगरी पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच नयाँ सरकार गठनबारे छलफल सुरु भएको छ।

रवि लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार खुट्टामा देखिएको पुरानै इन्फेक्सनका कारण लामिछाने केही दिनदेखि घरमै आराम गरिरहेका छन्। स्वास्थ्य अवस्थाका बाबजुद पनि पार्टी शीर्ष नेताहरूबीच सरकार गठनसम्बन्धी छलफल भइरहेको उनले बताए।

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावल ले भने सभापति लामिछानेको मुद्दाका कारण बुधबार (फागुन २७) सर्वोच्च अदालततर्फ व्यस्त रहनुपरेको जानकारी दिइन्। उनका अनुसार अहिले पार्टी नेतृत्व कानुनी प्रक्रिया र अन्तिम मतपरिणामको अवस्थाबारे पनि ध्यान दिइरहेको छ।

बालेन निकट स्रोतका अनुसार पार्टी शीर्ष नेताहरूबीच केही दिनअघिदेखि नै सरकार गठन, मन्त्रिपरिषद् संरचना र विज्ञ टोलीबारे छलफल भइरहेको छ।

यसअघि पुस १३ गते लामिछाने र बालेनबीच भएको सहमतिअनुसार पार्टी सभापति लामिछाने रहने र प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने सहमति भएको थियो। सोही सहमतिअनुसार बालेन नै प्रधानमन्त्री बन्ने रास्वपाले जनाएको छ।

हालसम्म संसदीय दलको नेता चयन गर्न बैठक भने बोलाइएको छैन। पार्टीका एक नेताका अनुसार निर्वाचन आयोगले सबै प्रक्रिया टुंग्याएपछि संसदीय दलको बैठक बसेर औपचारिक निर्णय हुने सम्भावना छ।

समानुपातिकतर्फ सांसद छनोटका लागि दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिम लगायतका क्लस्टर मिलानबारे रास्वपाभित्र आन्तरिक छलफल भइरहेको छ।

प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिक मतका आधारमा करिब ५७ सिट पाउने अनुमान गरिएको छ, यद्यपि सिटको अन्तिम निर्धारण आयोगले गर्न बाँकी छ।

यसबीच भावी मन्त्रिपरिषद् गठनमा कसले कुन मन्त्रालय पाउने भन्ने विषयले पनि चर्चा पाएको छ। लामिछानेले यसअघि आफूलाई सहज हुने गरी बालेनले मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए।

चुनावअघि नै लामिछानेले तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्ले लाई अर्थमन्त्री बनाउने घोषणा गरिसकेका थिए। त्यसैले अधिकांशले वाग्ले नै बालेन नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने अनुमान गरेका छन्।

रास्वपाले सरकार गठनमा कुनै जटिलता नरहेको जनाएको छ। पार्टीका नेताहरूका अनुसार क्षमता र योग्यताका आधारमा मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरिनेछ।

पार्टीले संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल ले प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक प्रक्रिया सुरु हुनेछ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६२ अनुसार निर्वाचन आयोगले अन्तिम परिणाम घोषणा भएको एक साताभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ। त्यसपछि सरकार गठनको प्रक्रिया अघि बढ्छ।

नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ। बहुमत प्राप्त दलको हैसियतमा रास्वपा अब नयाँ सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka