विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मदिराजन्य पदार्थको उत्पादन, बिक्री–वितरण तथा सेवनमा अस्थायी प्रतिबन्ध लगाएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङद्वारा जारी अत्यन्त जरुरी सूचनाअनुसार गृह मन्त्रालयको निर्णय बमोजिम निर्वाचन हुनुभन्दा ७ दिनअघि अर्थात् २०८२ फागुन १४ गतेदेखि अन्तिम मत परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिराजन्य पदार्थको उत्पादन, बिक्री–वितरण र सेवन गर्न निषेध गरिएको हो।
सूचनामा उल्लिखित निर्णय विपरीत कुनै गतिविधि गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले हस्ताक्षर गरेको उक्त सूचनामार्फत सम्बन्धित सबै निकाय, व्यवसायी तथा सर्वसाधारणलाई निर्णय कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरिएको छ।
