विराटनगर । तराईमा यस पटक हुलहुज्जत नगरी घरघरमै होली मनाउन प्रशासनले निर्देशन दिएको छ । पहाडी क्षेत्रमा सोमबार होली मनाइन्छ । तर चन्द्रग्रहण परेकाले हिन्दुधर्म गुरुहरुले बुधबार नै होली मनाउँदा उचित हुने सल्लाह दिएका छन् । तर माैन अवधि परेकाले प्रशासनले भने त्यसअघि नै होली मनाउन भनेकाे छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार आयोजना गरेको धार्मिक व्यक्तित्व तथा प्रतिनिधिहरु समेतको बैठकले यसबारे निर्णय गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले सबै पक्षको सहमतिपछि यो निर्णय गरिएको जानकारी दिएका छन् ।
उनले भने,‘‘होली हर्षोल्लासपूर्वक मनाइने रंगहरुको पर्व हो तर यस पटक निर्वाचन त्योभन्दा ठूलो पर्वको रुपमा आएकोले सुरक्षा सम्वेदनशीलतालाई समेत हेरेर सानो संख्यामा मनाउन भनेका हौं ।’’
उनले धार्मिक पर्वहरुको महत्व र विशेषता आफ्नै भएपनि चुनावका बेला परेकोले केही कडाई गर्ने निर्णय भएको बताए ।
होली पर्वको अवसरमा सार्वजनिक स्थलमा हुने भीडभाड तथा सांगीतिक कार्यक्रम नगर्न आग्रह
जिल्ला प्रशासन कार्यालय मोरङले होली पर्वको अवसरमा सार्वजनिक स्थलमा हुने भीडभाड तथा सांगीतिक कार्यक्रम नगर्न आग्रह गरेको छ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिसँग होली पर्व जुधेकाले शान्ति-सुरक्षा र निर्वाचन आचारसंहिता पालना सुनिश्चित गर्न यस्तो सूचना जारी गरिएको कटेलले बताए ।
कार्यालयद्वारा जारी सूचनामा होली पर्व आपसी सद्भाव र पारिवारिक वातावरणमै मर्यादित रूपमा मनाउन अनुरोध गरिएको छ। सार्वजनिक स्थानमा भीडभाड, र्याली, जुलुस, डिजे, अकेस्ट्रालगायतका कार्यक्रम नगर्न र कुनै पनि प्रकारका सामूहिक भोज-भतेर तथा सांस्कृतिक कार्यक्रम आयोजना नगर्न निर्देशन दिएको छ ।
निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ। प्रशासनले जिल्लावासीलाई संयमित र जिम्मेवार ढंगले पर्व मनाउन तथा शान्ति-सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। प्रजिअ कटेलले भने,‘‘हामी पर्वमा निदैृशन पालना नगर्नेलाई धरपकड गर्न नपरोस भन्नेमा छौं ।’’
यस पटक ग्रहण समेत भएकोले हिन्दू धार्मिक गुरुहरुले बुधबार नै होली मनाउन असर पर्ने बताएकाले कतिपय सर्वसाधारण के गर्ने भन्नेमा अन्योलमा छन् । प्रजिअ कटेलले महत्वपूर्ण पर्व भएपनि यसलाई सहज बनाउन सर्वसाधारणबाट सहयोगको अपेक्षा गरिएको बताए ।
