Premier Cables
Premier Steel

कोशी प्रदेश

प्रधानमन्त्री चयन संसदीय दलको अधिकार: डा. शेखर कोइराला

Calendar बुधबार, माघ २८, २०८२  | राती ९:५५ बजे

विराटनगर । नेपाली कांग्रेसका नेता तथा मोरङ–६ का उम्मेदवार डा. शेखर कोइरालाले प्रधानमन्त्री को बन्ने भन्ने विषय चुनावपछि संसदीय दलले निर्णय गर्ने बताएका छन्। उनले कांग्रेसमा कम्युनिष्ट पार्टीजस्तो चुनावअघि नै प्रधानमन्त्रीको घोषणा गर्ने परम्परा नभएको स्पष्ट पारे।

बुधबार साँझ कोइराला निवासमा पत्रकारहरूसँगको छलफलमा उनले विशेष महाधिवेशनमा सहभागी नभएको निर्णय पार्टी एकता जोगाउनका लागि भएको बताए। “म विशेष महाधिवेशनमा गएको भए कांग्रेस दुई टुक्रा हुन सक्थ्यो, त्यसलाई रोक्न र पार्टी बचाउन नगएको हुँ,” उनले भने। केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने धारणा राखे पनि त्यो सम्भव नभएपछि आफू सहभागी नभएको उनको भनाइ थियो।

चुनावमा धेरै अग्रज नेताहरू नउठ्दा पार्टीमा अभिभावकत्वको अभाव हुन नदिन अन्तिम समयमा उम्मेदवारी दिएको उनले जानकारी दिए। “सबै कुरा मनन गरेर मनोनयनकै दिन बिहान ९ः३० बजे टिकट लिएर दर्ता गर्न आएको थिएँ,” उनले भने।

कोइरालाले अहिले विषम परिस्थितिमा चुनाव हुन लागेको उल्लेख गर्दै संविधानमा आवश्यक सुधार गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। नेपाली कला, संस्कृति र मौलिकता जोगाउँदै देशलाई अगाडि बढाउनुपर्ने उनको धारणा थियो।

मोरङ–६ मा कांग्रेस एकजुट रहेको र सबैको सहयोग प्राप्त भएकाले आफू विजयी हुनेमा विश्वस्त रहेको उनले बताए। “कांग्रेस बलियो संगठन भएको पार्टी हो। संगठन, कार्यकर्ता परिचालन र जनमतका आधारमा चुनाव जितिन्छ,” उनले भने। सामाजिक सञ्जालमा नयाँ उम्मेदवारहरूको चर्चा भए पनि कांग्रेसको संगठन दह्रो रहेको उनको दाबी थियो। युवा पुस्तासँग निरन्तर संवादमा रहेको र उनीहरूले उठाएका विषयमा साथ र समर्थन गर्दै आएको पनि उनले बताए।

आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग निकट सम्बन्ध रहेको उल्लेख गर्दै कोइरालाले आफूले टोलटोलका मतदातालाई व्यक्तिगत रूपमा चिनेको दाबी गरे। “मेरो कमजोरी छैन भन्दिनँ, तर अरू उम्मेदवारलाई मतदाताले कत्तिको चिनेका छन्?” उनले प्रश्न गरे।

आफूले क्षेत्रमा उल्लेख्य विकास निर्माणका काम गरेको र त्यसबारे सर्वसाधारण जानकार रहेको उनले बताए। “क्रियाशील सदस्यहरूमार्फत मैले गरेका कामबारे मतदातालाई पत्राचार गरेको छु, विस्तारै सबैले जानकारी पाउनेछन्,” उनले भने।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka