Premier Cables
Premier Steel

कोशी प्रदेश

‘सह-अस्तित्वको आधारमा तीनै तहका सरकार सञ्चालन हुन सकेनन्’

Calendar आइतबार, माघ २५, २०८२  | साँझ ७:३४ बजे

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधानले समन्वय सहकार्य र सहअस्तित्वका आधारमा सरकारहरूबीच काम गर्ने भने पनि सो अनुनरूप नभएको बताउनुभएको छ।

 

आज विराटनगरमा प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले स्थानीय तह र प्रदेशबाट ९९ प्रतिशत काम सकेर कतिपय विषय संघीय सरकारमा पठाउँदा पनि काममा समस्या समाधान नभएको बताउनुभयो।

 

उहाँले भन्नुभयो, “समन्वय सहकार्य र सहअस्तित्वको आधारमा तिनै तहका सरकार सञ्चालन हुने संविधानले व्यवस्था गरे पनि सो अनुसारको नहुँदा प्रदेश सरकारले राम्रोसँग काम गर्न सकेको छैन।”

 

प्रदेश स्तरीय विकास समस्या समाधान समितिमा छलफलमा ल्याइएका समस्याहरूको विषयलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशमा देखिएका समस्या प्रदेशमै समस्या समाधान गर्नुपर्ने बताउँदै संघको समन्वयमा गर्नुपर्ने काम संघसँगको सहकार्यमा गर्न जोड दिनुभयो।

 

 

उहाँले कतिपय काम प्रदेशले आफ्नै सिर्जनात्मक हिसाबले गर्नुपर्ने अवस्था आएको बताउँदै समन्वय गरेर समस्या समाधान गर्न आग्रह गर्नुभयो।

 

 

बैठकमा कोशी प्रदेशको सार्वजनिक खर्च मापदण्ड र मितव्ययिता निर्देशिकाले काम गर्न अप्ठ्यारो भएको विषयलाई पनि राखिएको थियो। राजस्व सङ्कलन र राजस्व दायरालाई बढाउने, कानुन कार्यविधिहरु निर्माण गर्ने, समपुरक बजेटबाट आउने आयोजनालाई व्यवस्थित रुपले सञ्चालन गर्नुपर्ने साथै बेरुजु घटाउने ल विषय पनि बैठकमा राखिएको थियो।

 

बहुवर्षीय आयोजनाहरूको दायित्व र यसले भविष्यमा पार्ने विषय साथै सानासाना आयोजना कार्यान्वयनमा देखापरेका अप्ठ्याराका विषयमा पनि बैठकमा छलफल भएको छ।

 

प्रदेश सरकार मातहत रहेको यातायातको अधिकार खुम्च्याउने र कृषि आयकर लगायतका प्रदेशका क्षेत्राधिकारमा केन्द्र सरकारले ध्यान नदिएको विषय लाई पनि बैठकमा गम्भीरतापूर्वक उठाइएको प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जानकारी दिनुभयो।

 

बैठकमा प्रदेशका मन्त्रीहरू, सचिवहरूले मन्त्रालयमा देखेका समस्याका विषयमा धारणाहरु राख्नुभएको थियो।

 

अहिले देखिएका समस्याहरुलाई फागुनभित्रै समस्या समाधान गर्ने गरी अगाडि बढाइने तयारी गर्ने सो बैठकमा निर्णय भएको छ। प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेलले बैठकका विषयहरुलाई संघ सरकारसँग समन्वय गर्ने र प्रदेशले गर्नुपर्ने काम पनि तत्कालै गर्ने जानकारी दिनुभयो।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka