२०११ आईसीसी क्रिकेट विश्वकप फाइनलको ४९औँ ओभरको दोस्रो बल। भारतलाई जितका लागि ११ बलमा चार रन चाहिएको थियो। स्ट्राइकर छेउमा एमएस धोनी थिए, बलर नुवान कुलसेकरा।
फुल लेन्थको बलमा धोनीले प्रख्यात ‘हेलिकप्टर सट’ प्रहार गरे र बल सीमा नाघ्न नपाउँदै कमेन्टेटर रवि शास्त्रीले घोषणा गरिसकेऔ“धोनी शैली।”
त्यस क्षणसँगै भारतले २८ वर्षपछि, त्यो पनि घरेलु मैदान मुम्बईको वानखेडे रंगशालामा विश्वकप जित्यो।
१५ वर्षपछि, यही ऐतिहासिक मैदान फेरि अर्को विश्वकप कथाका लागि तयार हुँदैछ। यसपटक भने भारत होइन, नेपाल आफ्नो अध्याय लेख्ने लक्ष्यसहित २०२६ आईसीसी पुरुष टी-२० विश्वकपका समूह चरणका खेलहरू खेल्न वानखेडे उत्रँदैछ।
नेपाल क्रिकेटले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति गरेको छ। त्यसैले घरेलु अपेक्षामात्र होइन, अन्तर्राष्ट्रिय नजर पनि ‘द राइनोज’ माथि छ।
शुक्रबार वानखेडेमा भएको प्रि-म्याच पत्रकार सम्मेलनमा इंग्ल्यान्डका विल ज्याक्सले भने, “नेपाली क्रिकेट बढिरहेको छ भन्ने मलाई थाहा छ। हरेक खेल महत्वपूर्ण हुने भएकाले हामी गल्ती गर्न चाहँदैनौँ।”
नेपाल र इंग्ल्यान्ड आइतबार हुने खेलमार्फत पहिलोपटक आमनेसामने हुँदैछन्। यो नै दुवै टोलीका लागि विश्वकपको पहिलो खेल हुनेछ। समूह ‘सी’ मा नेपाल र इंग्ल्यान्डसँगै वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड छन्।
इंग्ल्यान्ड र वेस्ट इन्डिज दुबै दुई-दुई पटक टी-२० विश्वकप जितिसकेका दिग्गज टोली हुन्। यस्तो अवस्थामा नेपालका लागि यी टोलीलाई हराउनु सजिलो छैन। तर बाँकी खेलहरू पनि हल्का रूपमा लिन मिल्दैन।
स्कटल्यान्ड र नेपाल दुवै एसोसिएट राष्ट्र हुन्। गत वर्ष स्कटल्यान्डमा भएको त्रिकोणात्मक सिरिजमा नेपाल र स्कटल्यान्डले एक-एक खेल जितेका थिए।
इटाली भने नयाँ क्रिकेट राष्ट्र भए पनि उनीहरूको प्रदर्शन उत्साहजनक छ। युरोप क्षेत्रीय छनोटमा स्कटल्यान्डलाई हराएको इटालीले विश्वकप अभ्यास खेलमा क्यानडा र यूएईलाई पराजित गर्यो। यूएईविरुद्ध १९३/७ को स्कोर बनाउँदै १८.२ ओभरमै विपक्षीलाई ८१ रनमा समेट्नु इटालीको बलियो सन्देश हो।
इटालीका कप्तान वेन म्याड्सनले भने, “इटालीमा पहिलोपटक क्रिकेट विश्वकप प्रत्यक्ष प्रसारण हुनेछ। विश्वकपमा सहभागी हुनु नै हाम्रो लागि गर्वको क्षण हो।”
बंगलादेशको हटाइपछि अप्रत्याशित रूपमा विश्वकप प्रवेश पाएको स्कटल्यान्ड पनि राम्रो तयारीमा छ। यसले समूह ‘सी’ मा नेपालको यात्रा झन् चुनौतीपूर्ण बनाउँछ।
वानखेडे रंगशालाको रातो माटोको पिच उच्च स्कोरका लागि परिचित छ। यस पिचमा बलले राम्रो बाउन्स पाउने भएकाले द्रुत गतिका बलरलाई फाइदा हुने ईएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ। पावरप्लेमै विकेट लिन सक्ने आक्रामक बलर प्रभावकारी हुन सक्छन्।
नेपालसँग अत्यन्तै धारिला फास्ट बलर धेरै नभए पनि नन्दन यादवबाट अपेक्षा गरिएको छ। तर नेपालको वास्तविक बलियो पक्ष भने स्पिन आक्रमण हो। सन्दीप लामिछाने, ललित नारायण राजवंशी र शेर मल्लाजस्ता स्पिनरहरू नेपालका प्रमुख हतियार हुन्।
दोस्रो इनिङ्समा धेरै ओस नपर्ने सम्भावना भएकाले स्पिनरहरूलाई थप मद्दत पुग्न सक्छ।
इंग्ल्यान्डसँग पनि जोफ्रा आर्चरसँगै आदिल राशिद, साम करन, ज्याकब बेथेल र रेहान अहमदजस्ता गुणस्तरीय स्पिन विकल्प छन्। विल ज्याक्सका अनुसार, “साम करनको बल ढिलो आउँछ, सफा हिट नगरे क्याच हुने सम्भावना धेरै हुन्छ।”
वानखेडेमा साना बाउन्ड्री र छिटो आउटफिल्डका कारण ठूलो स्कोर सम्भव भए पनि, नेपाली ब्याट्सम्यानका लागि यो वास्तविक परीक्षा हुनेछ।
क्यानडा र यूएईविरुद्ध अभ्यास खेल जित्नु, श्रीलंका र भारतमा दुई साता अभ्यास गर्नु, र गत वर्ष वेस्ट इन्डिजलाई हराएको आत्मविश्वास नेपालसँग छ। २०२४ टी-२० विश्वकपमा दक्षिण अफ्रिकासँगको नजिकको खेलले पनि टोलीको स्तर देखाएको थियो।
नेपालका कप्तान रोहितकुमार पौडेलले भने, “हाम्रो वर्तमान टोलीका धेरै खेलाडी २०१४ को विश्वकप प्रदर्शनबाट प्रेरित भएका हौँ। २०२६ विश्वकपमार्फत हामी नयाँ पुस्तालाई प्रेरित गर्न चाहन्छौँ।”
इतिहास बोकेको वानखेडे मैदानमा अब प्रश्न एउटै छ-के नेपालले पनि यहाँ आफ्नै ऐतिहासिक कथा लेख्न सक्छ?
