फायल फोटो
काठमाडौँ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । नेपाल प्रहरीले उनलाई काठमाडौँको चाल्नाखेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले प्रसाईं पक्राउ परेको पुष्टि गरेका छन् । यद्यपि, उनलाई कुन अभियोगमा पक्राउ गरिएको हो भन्ने विषयमा विस्तृत जानकारी आउन बाँकी रहेको उनले बताएका छन् ।
यसअघि प्रसाईं माघ ५ गते सार्वजनिक शान्तिविरुद्धको कसुरमा पोखराबाट पक्राउ परेका थिए । तर, भोलिपल्टै माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए । रिहा भएको केही दिनमै उनी पुनः प्रहरी नियन्त्रणमा परेका हुन् ।
पछिल्लो समय प्रसाईंले नेपाली कांग्रेसका नेता गगन थापा र निर्वाचन आयोगसम्बन्धी विवादास्पद अभिव्यक्ति दिएका थिए । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले निर्वाचन आयोगलाई ठूलो रकम बुझाएर आधिकारिकता लिएको भन्ने उनको अभिव्यक्तिप्रति आयोगले आपत्ति जनाउँदै अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो ।
यही प्रकरणका कारण प्रसाईं पक्राउ परेका हुन सक्ने अनुमान गरिएको छ ।
