विराटनगर । प्रतिनिधि सभा २०७९ को निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एउटा चुनावी नारा अघि सारेका थिए ।
त्यही नारा र राष्ट्रवादी नेताको छवि बनाएका कारण ओली ठूलो मतान्तरले विजयी भए । पार्टीले पनि सम्मानजनक सिट प्राप्त गर्यो ।
ओली देशको प्रधानमन्त्री बन्दै सरकारको नेतृत्व गरे । केही राम्रा काम पनि गरे । त्यसपछि पनि उनले त्यो नारालाई निरन्तर अगाडि बढाई रहेका छन् । खासमा त्यो भिजन उनकै थियो । ओली निकटका एमाले नेताहरुले अहिले पनि त्यही नारा बोकेर चुनावी मैदानमा उत्रिएका छन् ।
त्यसबेलाको नारा थियो, ‘समृद्ध नेपाल, सुखी नेपाली’ । यसको चर्चा अहिले पनि छ । सान्दर्भिकता पनि । ओली सरकारले त्यसलाई नै मूल नारा बनाएर आफ्ना विकासका योजना अघि सारेको थियो ।
प्रतिनिधि सभा निर्वाचनमा त्यही एमालेको नारालाई नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का उमेदवार डा. शेखर कोइरालाले चोरेका छन् ।
यस पटकको चुनावी अभियानमा उनले यही नारा प्रयोग गरिरहेका छन् । कम्युनिष्टले अघि सारेको यही नारालाई अहिले कोइरालाको सचिवालयले प्रचार गरिरहेको छ । शेखरको सचिवालयले सुखी नेपाली भन्ने हरफ माथि राखेर समृद्ध नेपाल तल बनाई चुनावी प्रचार गरिरहेको छ ।
कोइरालाको तस्बिर अंकित गरेर उनको सचिवालयले चुनावी प्रचार गरिरहेको छ । हुनतः कोइराला केपी ओलीसँग राम्रो सम्बन्ध भएको नेता मानिन्छन् । सरकार गठन गर्न एमालेसँग गठबन्धन गर्नुपर्ने मत कोइरालाले नै सबैभन्दा पहिले अघि सारेका थिए ।
यसको शुरुवात कोसी प्रदेशमा सरकार फेरबदल गर्न कोइरालाले नै प्रयोग गरेर गरेका थिए ।

