काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले कोशी र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपात तथा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी वायुको असरका कारण तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ। हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ भने देशका अन्य भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्ने अनुमान छ। यसैगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति पनि तराईका केही स्थानमा हुस्सु रहने सम्भावना रहेको छ। साथै कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
