काठमाडौं । टी–२० विश्वकपमा बंगलादेश आफ्नो अडानमा कायम रहेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले स्कटल्यान्डलाई नयाँ टिमका रूपमा समावेश गरेको छ।
विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले भारतमा तय गरिएको खेल स्थान परिवर्तन गर्ने बंगलादेशको आग्रह अस्वीकार गरेपछि बंगलादेशले प्रतियोगिता नै नखेल्ने घोषणा गरेको हो। समूह ‘सी’ मा रहेको बंगलादेशको स्थानमा अब युरोपेली टोली स्कटल्यान्डले प्रतिस्पर्धा गर्नेछ। यस समूहमा स्कटल्यान्डसँगै नेपाल, इंग्ल्यान्ड, वेस्ट इन्डिज र इटाली रहेका छन्।
नेपालको सम्भावनामा कस्तो असर ?
बंगलादेशले सहभागिता नजनाएपछि आईसीसीले टी–२० वरीयताका आधारमा स्कटल्यान्डलाई अवसर दिएको हो। यसअघि स्कटल्यान्डले युरोपियन छनोट खेल्दै विश्वकपमा स्थान बनाउने प्रयास गरेको भए पनि इटालीसँग पराजित भएपछि छनोट हुन सकेको थिएन।
एसोसिएट राष्ट्र स्कटल्यान्ड र नेपाललाई विश्व क्रिकेटमा करिब समान स्तरका टोलीका रूपमा हेरिन्छ। समूहबाट बलियो टेस्ट राष्ट्र बंगलादेश बाहिरिँदा नेपालको सुपर–८ पुग्ने सम्भावना केही बढेको छ। तर, इंग्ल्यान्ड र वेस्ट इन्डिजजस्ता पूर्व विश्वकप विजेता टोलीसमेत यही समूहमा रहेकाले नेपालको यात्रा अझै चुनौतीपूर्ण नै रहनेछ।
किन बाहिरियो बंगलादेश ?
गत पुष १९ गते भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को दबाबमा इन्डियन प्रिमियर लिग (आईपीएल) टोली कोलकाता नाइट राइडर्सले बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई रिलिज गरेको थियो। रिलिजको कारण आधिकारिक रूपमा नखुलाइए पनि यही घटनापछि भारत र बंगलादेशका क्रिकेट संघबीचको विवाद सतहमा आएको हो।
कोलकाताले रहमानलाई नौ करोड २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो। तर, डिसेम्बरमा भएको मिनी अक्सनदेखि नै भारतका केही अतिवादी समूहले उनको सहभागिताविरुद्ध विरोध जनाउँदै आएका थिए। रहमानलाई नहटाए आईपीएल खेलमा अवरोध पुर्याउने धम्कीसमेत दिइएको थियो।
देशभित्रको दबाब र राजनीतिक वातावरणका कारण बीसीसीआईले कोलकातामाथि रहमानलाई रिलिज गर्न दबाब दिएको बताइन्छ। सोही दबाबपछि कोलकाताले शनिबार (पुष २० गते) उनलाई टोलीबाट मुक्त गरेको हो।
अडानमा अडिग बंगलादेश
आफ्नो खेलाडीको सुरक्षा सुनिश्चित गर्न नसकिएको भन्दै बंगलादेशले सम्पूर्ण टोली भारत पठाउन नसकिने अडान लिएको थियो। बंगलादेश सरकारका खेलकुद निर्देशक आसिफ नज्रुलले यस विषयलाई आईसीसीसमक्ष उठाउन र टी–२० विश्वकपको भेन्यु भारतबाट सार्न बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई आग्रह गरेका थिए।
बीसीबीले त्यसअनुसार आईसीसीसँग आफ्ना खेल भारतको सट्टा श्रीलंकामा सार्न अनुरोध गरेको थियो। तर, आईसीसी बैठकले खेल स्थल परिवर्तन आवश्यक नरहेको ठहर गरेपछि बंगलादेशले विश्वकप बहिष्कार गर्ने निर्णय गरेको हो।
समूह ‘सी’ अन्तर्गत बंगलादेशका सबै खेल भारतमा हुने तालिका थियो। फेब्रुअरी ७ मा वेस्ट इन्डिज, ९ मा इटाली, १४ मा इंग्ल्यान्ड र १७ फेब्रुअरीमा नेपालसँग खेल्ने कार्यक्रम तय थियो। अब यी मितिहरूमा बंगलादेशको सट्टा स्कटल्यान्डले प्रतिस्पर्धा गर्नेछ।
