फायल फोटो
विराटनगर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस प्रक्रिया सुरु गरेको छ।
निर्वाचन नजिकिँदै जाँदा पार्टीका क्षेत्रीय तथा जिल्ला कमिटीहरूले आकांक्षीहरूको नाम केन्द्रमा पठाउन थालेका हुन्।
यसक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस भएका छन्। ओलीको गृह निर्वाचन क्षेत्रसमेत रहेको झापा–५ को क्षेत्रीय समन्वय कमिटी बैठकले उनको नाम एकल रूपमा अघि सारेको हो।
इलाम क्षेत्र नम्बर २ बाट युवा नेता सुहाङ नेम्वाङ पनि एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन्। गत वैशाखको उपनिर्वाचनमा विजयी नेम्वाङलाई पुनः सोही क्षेत्रबाट सर्वसम्मत रूपमा अघि बढाइएको इलाम एमालेले जनाएको छ। यस्तै, धनकुटाबाट पूर्वमन्त्री राजेन्द्रकुमार राई र सुनसरी क्षेत्र नम्बर ४ बाट जगदीशप्रसाद कुसियतको नाम पनि एकल रूपमा सिफारिस गरिएको छ।
मोरङ जिल्लाका छवटै निर्वाचन क्षेत्रमा भने आकांक्षीहरूको संख्या धेरै रहेकाले एकल नाम टुंगो लाग्न सकेन। छवटै क्षेत्रबाट गरी कुल ४३ जनाको नाम सिफारिस गरिएको छ। नेता विनोद ढकालको नाम मोरङ १, ४ र ६ गरी तीन निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ।
मोरङ १ बाट कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, विनोद ढकाललगायत ६ जनाको नाम सिफारिस गरिएको छ भने मोरङ २ बाट निवर्तमान सांसद ऋषिकेश पोखरेलसहित तीन जनाको नाम अघि सारिएको छ। मोरङ ३ मा सबैभन्दा धेरै १६ जनाको नाम सिफारिस भएको छ।
यसैगरी मोरङ ४ बाट केन्द्रीय सदस्य जीवन घिमिरेसहित ९ जनाको नाम, मोरङ ५ बाट ६ जनाको नाम र मोरङ ६ बाट पूर्वसांसद लालबाबु पण्डितसहित ६ जनाको नाम क्षेत्रीय कमिटीले सिफारिस गरेको छ।
झापा जिल्लाका अन्य निर्वाचन क्षेत्रहरूमा पनि उम्मेदवारहरूको सूची तयार गरिएको छ। झापा १ बाट ८ जना, झापा २ बाट १३ जना, झापा ३ बाट ५ जना र झापा ४ बाट ३ जनाको नाम सिफारिस गरिएको छ।
ताप्लेजुङबाट एमाले उपमहासचिव योगेशकुमार भट्टराईसहित पाँच जनाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ। इलाम १ बाट निवर्तमान सांसद महेश बस्नेतसहित तीन जनाको नाम सिफारिस गरिएको छ भने धनकुटाबाट राजेन्द्रकुमार राईको नाम एकल रूपमा अघि सारिएको छ।
सुनसरी जिल्लामा क्षेत्र नम्बर १ बाट ८ जना, क्षेत्र नम्बर २ बाट १८ जना, क्षेत्र नम्बर ३ बाट ४ जना र क्षेत्र नम्बर ४ बाट जगदीशप्रसाद कुसियतको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ।
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा ८ देखि ९ जनाको नाम समेटिएको सूची तयार गरिएको छ। क्षेत्रीय कमिटीबाट आएका नामहरू जिल्ला र प्रदेश कमिटी हुँदै केन्द्रमा पठाइने एमालेले जनाएको छ।
संखुवासभा, भोजपुर, खोटाङ, तेह्रथुम, ओखलढुंगा र सोलुखुम्बुजस्ता एकल निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा भने जिल्ला समितिको बैठक बसेर उम्मेदवार टुंगो लगाइने जनाइएको छ। ती जिल्लाहरूको बैठक सोमबार बस्ने एमालेले जानकारी दिएको छ।
