फायल फोटो
काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले जनमत संग्रहबारे निर्णय लिन सरकारले आगामी आइतबारसम्मको समय मागेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले आइतबारसम्मको अल्टिमेटम दिएको जानकारी दिए ।
सरकारले आगामी आइतबारसम्म पनि आफूहरूका माग र जनमत संग्रहबारे निर्णय नलिए आन्दोलन गर्ने चेतावनी दिए । उनले एउटा पक्षलाई रुवाएर अर्को पक्ष निर्वाचनमा जान नपाउने उल्लेख गरे ।
“मैले गम्भीर तरिकाले कुरा राखेँ, यी मुद्दा देशका हुन् । तपाईंलाई आफ्नो नातिसँग नेपालमै बस्न मन छैन भनेर सोधेँ । उहाँले खै केके भनेर खुई… गर्नुभयो । पूरै थाकेको जस्तो । जेनजीले खोसेर ल्याइदिएको सरकारमा बस्ने अनि उनीहरूलाई थुन्ने भने । आइतबारसम्मको समय माग्नुभयो । आइतवार सही गरौँ दुई पक्ष बसेर सोमबारको मन्त्रिपरिषद्बाट पास गर्दछौँ । सकेनौँ भने आइतबारको दिन सकेनौँ भन्छौँ भन्नुभएको छ,” उनले भने ।
सरकार जेनजीका मागहरू त्यत्तिकै राखेर निर्वाचनमा जान नपाउने उनको भनाइ छ । सरकारले एउटा पक्षलाई मात्रै बोकेर हिँडिरहेको भन्दै यसको परिणाम राम्रो नहुने चेतावनी दिए । “एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान पाउँदैन । नेपाल सबैको साझा हो भनेका छौँ । यो तरिकाले यो सरकार जेनजीका मागहरू त्यत्तिकै राखेर चुनावमा जान खोज्यो, नक्कली एउटा मात्रै टिमलाई बोकेर चुनावमा जान खोज्यो भने त्यो सफल हुँदैन,” उनले भने ।
संयोजक प्रसाईंले जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताए । आफूहरूले लोकतन्त्रको अधिक प्रयोग गरेर जनमत संग्रह गर्न आग्रह गरेको उल्लेख गरे ।
