Premier Cables
Premier Steel

अर्थ विराटनगर

सीप प्रमाणीकरणदेखि रोजगारीसम्मः सीपयुक्त जनशक्तिलाई श्रम बजारसँग जोड्ने प्रयास

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, पुष १७, २०८२  | साँझ ४:३३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत नेपाल सरकार र स्विस सरकारबीचको द्विपक्षीय पहलमा कार्यान्वयन भइरहेको नेपाल व्यावसायिक योग्यता प्रणाली (NVQS) परियोजना-दोस्रो चरणको सहकार्यमा बिहीबार “सीप प्रमाणीकरणदेखि रोजगारीसम्मः सीपयुक्त जनशक्तिलाई श्रम बजारसँग जोड्दै” विषयमा विशेष छलफल भएको छ।

एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्।

कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना तथा अनुसन्धान महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी कोशी प्रदेश कार्यालय, इटहरीका उप–निर्देशक दुर्गा प्रसाद ओझा, नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका सहायक निर्देशक नगेन्द्र कुमार श्रेष्ठ, मोरङ उद्योग व्यापार संघकी कार्यकारी सदस्य डा. बन्दना जैन तथा ग्रामेन्ट फ्याब्रिकेटर तह १ सीप प्रमाणीत सगरमाथा ग्रामेन्ट्सकी ललिता श्रेष्ठ सहभागी थिए। कार्यक्रमको सहजीकरण नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना -दोस्रो चरणका अनुगमन तथा नतिजा मापन विशेषज्ञ प्रेमकुमार मग्रातीले गरेका थिए।

छलफलमा सिटिईभिटी इटहरीका उप–निर्देशक दुर्गा प्रसाद ओझाले सिटिईभिटीले विभिन्न सीप विकास कार्यक्रममार्फत दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको जानकारी गराए। उनले एचए, स्टाफ नर्स, सब–ओभरसियरजस्ता मध्यम तथा निम्न तहका प्राविधिक जनशक्ति उत्पादनमा सिटिईभिटीको योगदान महत्वपूर्ण रहेको बताए।

गत वर्षदेखि औद्योगिक प्रशिक्षार्थी, होटल म्यानेजमेन्टलगायतका कार्यक्रम थप गरिएको उल्लेख गर्दै ओझाले उत्पादन र सेवा क्षेत्रमा रियल वर्क गरेपछि मात्र अध्ययन पूरा हुने मोडेल लागू गरिएको बताए। “यसले उद्योगलाई आवश्यक जनशक्ति सहजै उपलब्ध गराउन सहयोग पुर्‍याउँछ,”उनले भने।

मोरङ उद्योग व्यापार संघकी कार्यकारी सदस्य डा. बन्दना जैनले बजारमा सीपयुक्त जनशक्तिको अभाव रहेको उल्लेख गरिन्। “विद्यार्थीले काम नपाएको गुनासो गर्छन्, उद्योगले आवश्यक जनशक्ति नपाएको भन्छ-यो स्पष्ट विरोधाभास हो,”उनले भनिन्।

उनले सर्टिफिकेट मात्र नभई स्किल, नलेज र एटिच्युड समान रूपमा महत्वपूर्ण हुने बताउँदै धेरै उद्योगीहरू बाध्य भएर बाहिरबाट जनशक्ति ल्याउनुपर्ने अवस्थामा पुगेको उल्लेख गरिन्। नयाँ जनशक्तिलाई उद्योगमै तालिम दिएर पारिश्रमिकसमेत उपलब्ध गराउँदा पनि सीप सिकेपछि काम छाड्ने प्रवृत्ति रहेको गुनासो पनि जैनले व्यक्त गरिन्।

नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका सहायक निर्देशक नगेन्द्र कुमार श्रेष्ठले विद्युत उत्पादन, प्रसारण र वितरण क्षेत्रमा ६२ प्रतिशतभन्दा बढी प्राविधिक जनशक्ति आवश्यक पर्ने बताए। प्राविधिक कर्मचारीहरु प्रायजसो सिटिईभिटीबाट नै प्राप्त हुने बताउँदै भने,‘‘फिल्डबेसमा काम गर्ने कर्मचारीहरु विज्ञापनमार्फत लेभल १, २ र ३ तथा त्यसमाथिका आपूर्ति हुने गरेका छन् ।

इलेक्ट्रिसियन, मेशन, पलम्बिङ आदिमा आपूर्ति हुँदै आएको र प्राधिकरणले सुपरभाइजर लेभलका मात्र राख्न शुरु गरिएको बताए । तीन वर्षे डिप्लोमा लिने गरेको र सहायक लेभलमा पाँचौ तथा त्यसमाथि इन्जिनियरिङका जनशक्ति आउन थालेको जानकारी दिए ।

प्राधिकरण अटोमेसन र डिजिटल प्रणालीमा गइसकेकाले प्राविधिक जनशक्तिको सीप पनि परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै श्रेष्ठले भने, “अबको शिक्षा प्रणाली दक्ष र प्रविधिमैत्री जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्छ।”

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी उपसचिव लक्ष्मी न्यौपानेले प्रदेश तहमा प्राविधिक तथा व्यवसायिक शिक्षाअन्तर्गत तीनवटा सीप परियोजनाहरू सञ्चालनमा रहेको जानकारी दिइन्। युवालाई लक्षित गरी गुणस्तरीय प्राविधिक तालिम कार्यक्रम सञ्चालन गरिएको बताउँदै उनले २४ महिनेमध्ये केही अवधि तलबसहित र बाँकी सिकाइमा केन्द्रित तालिम मोडेल रहेको उल्लेख गरिन्।

सीप प्रमाणीकरण सिटिईभिटीसँगको समन्वयमा भइरहेको र वैदेशिक रोजगारीमा जाने युवालाई पनि सीपयुक्त बनाएर पठाउने उद्देश्य मन्त्रालयको रहेको बताइन्। सिटिईभिटी प्रदेश सरकार मातहत आए थप काम गर्न सकिने उनको भनाई थियो ।

कार्यक्रममा सगरमाथा ग्रामेन्ट्सकी ग्रामेन्ट फ्याब्रिकेटर ललिता श्रेष्ठले आफ्नो अनुभव सुनाइन्। गार्मेन्टमा हेल्परका रूपमा काम गर्दै तीन महिने तालिम तत्‌पश्चतको कार्यअनुभव पूरा गरेपछि सीप परीक्षणमार्फत प्रमाणपत्र प्राप्त गरेको बताउँदै उनले भनिन्, “सीप परीक्षणपछि म सुपरभाइजर बनेँ, आफ्नो सीप नगरपालिका स्तरमै दर्ता पनि गराएँ।”

प्रमाणपत्र मात्र नभई प्रमाणित सीपअनुसार काम गरेको हुनुपर्नेमा जोड दिइन्। सहभागीले स्थानीय तहमा समेत सीप भएकाहरुलाई रोजगारीको प्रबन्ध गरिनुपर्ने सुझाव दिएका थिए । कार्यक्रमा विभिन्न पेशगत समूह तथा व्यावसायी, विद्यार्थी गरि करिब १५० जनाको सहभागिता रहेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka