Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराट ट्रेड एक्स्पोमा थिमेटिक सेसनः महिला उद्यमीका ‘माई भ्वाइस, माई स्टोरी’ प्रस्तुत

Calendar बिहिबार, पुष १०, २०८२  | साँझ ४:४५ बजे

विराटनगर । विराट ट्रेड एक्स्पोमा उद्योग र व्यापारसँग सम्बन्धित थिमेटिक सेसन औपचारिक रूपमा सुरु भएको छ । मोरङ उद्योग व्यापार संघको आयोजनामा बुधबारदेखि सुरु भएको एक्स्पोअन्तर्गत विहीबार विभिन्न विषयमा केन्द्रित सेसनको उद्घाटन गरिएको हो ।

सेसनको उद्घाटन संघका अध्यक्ष अनुपम राठी र प्रमुख अतिथि संघका पूर्वअध्यक्ष शंकरलाल अग्रवालले संयुक्त रूपमा गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै संघका अध्यक्ष राठीले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्ष अलग्गै सेसन समावेश गरिएको बताए ।

बिज्ञापन

“पछिल्ला दुई-तीन दशक हेर्दा उद्योग–व्यवसायमा पुरुषको वर्चस्व देखिन्छ, तर अहिले विश्वभर महिला उद्यमशीलता तीव्र रूपमा बढ्दै गएको छ,” राठीले भने, “हाम्रो समाज पनि परिवर्तन हुन जरुरी छ । महिला उद्यमीका संघर्ष, समस्या र सफलताका वास्तविक कथामार्फत व्यवसायिक यात्रा कस्तो हुन्छ भन्ने सन्देश दिन खोजेका हौं ।”

उनका अनुसार सेसनले महिला उद्यमीबीच नेटवर्क विस्तार गर्न र समाजमा ‘महिला उद्यमशीलता आजको आवश्यकता हो’ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रम संयोजक अनिल शारडाले एक्स्पो अवधिभर नियमित रूपमा थिमेटिक सेसन सञ्चालन गरिने जानकारी दिए ।
“यो पटक फरक ढंगले एक्स्पो स्थलमै पहिलो पटक यस्ता सेसन आयोजना गरिएको हो,” उनले भने, “विद्यार्थीलाई केन्द्रमा राखेर उद्यमशीलताका सैद्धान्तिक र व्यवहारिक आयामबारे ज्ञान दिने उद्देश्य राखिएको छ ।”

पहिलो दिनको पहिलो सेसन ‘महिला उद्यमशीलताः चुनौती, अवसर र सफलताका कथा’ विषयमा केन्द्रित थियो । ‘माई भ्वाइस, माई स्टोरी’ शीर्षकमा भएको छलफलको सहजीकरण श्रुती शर्माले गरेकी थिइन् । सहभागी वक्ताहरूले महिला उद्यमशीलता अझै अपेक्षित रूपमा नबढे पनि सम्भावनाका ढोका खुला रहेको धारणा राखे ।

सेसनकी किनोट स्पिकर विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले आफ्नो उद्यमशीलता र राजनीतिक यात्राको अनुभवबारे जानकारी गराइन । “म विद्यार्थी हुँदा राजनीतिमा आउने कल्पना नै थिएन,” उनले भनिन्, “विवाहपछि करिअर सकिन्छ भन्ने सोच गलत हो । मैले विवाहपछि नै धेरै उपलब्धि हासिल गरेँ ।”

फेसन डिजाइनिङप्रतिको रुचि, पारिवारिक व्यवसाय, बुटिक र उद्योग सञ्चालनदेखि राजनीतिसम्मको यात्राबारे बोल्दै उनले भनिन्, “आफ्नै पहिचान बनाउनुपर्छ भन्ने सोचले मलाई अघि बढायो । चुनौती धेरै आए, तर हार मानिनँ ।”

उनले महिला उद्यमीलाई सन्देश दिँदै भनिन्, “नेपालमा काम गर्ने वातावरण छैन भन्ने होइन, बाटो आफैं बनाउनु पर्छ । चुनौती नचिर्ने हो भने आउने पुस्तालाई झनै गाह्रो हुन्छ ।”

लिलिपुट प्रिमियर स्कुलकी सञ्चालक अमिना तिम्सिनाले शिक्षा क्षेत्रमा डेढ दशक अघिदेखिको उद्यमशील यात्राबारे आफ्ना अनुभव आदान प्रदान गरिन् । “सात जना विद्यार्थीबाट सुरु गरिएको स्कुल आज ९ सय विद्यार्थी र १२० स्टाफको परिवार बनेको छ,” उनले भनिन् ।

उनका अनुसार शिक्षा क्षेत्रमा सफलता एकदिनको प्रयासले होइन, निरन्तर फोकस र अभिभावकको विश्वासले सम्भव हुन्छ । “आफूलाई अपडेट नगरे आउटडेटेड भइन्छ,” भन्दै तिम्सिनाले प्रविधि र व्यवस्थापकीय ज्ञान अपरिहार्य भएको उल्लेख गरिन् ।

धरानकी उद्यमी तथा ‘मनतुना चकलेट’ ब्रान्डकी सञ्चालक अंकिता गिरीले आफ्नो संघर्षपूर्ण यात्रा सुनाइन् । “ब्रान्ड बनाउनु सजिलो थिएन, दुर्घटना र असफलतासमेत भोगें,” उनले भनिन्, “तर सपना बुन्न छाडिनँ । सानोबाट सुरु गर्नुहोस्, एकदिन त्यो ठूलो बन्छ ।”

रिट कस्मेटिक्सकी सञ्चालक अञ्जना कट्टेल सुवेदीले उद्यमी बन्नुअघि कर्मचारीको अनुभव अनिवार्य हुने धारणा राखिन् ।
“इम्प्लोइको संघर्ष बुझेपछि मात्र राम्रो उद्यमी बन्न सकिन्छ,” उनले भनिन् । कम्फर्ट जोनबाट बाहिर ननिस्केसम्म महिलाहरुले धेरै काम गर्न नसक्ने बताउँदै आफू पहिले कर्मचारीको रुपमा कार्य गर्दै उद्यमी बनेको बताइन । उनले भनिन्,“चुनौतीलाई अवसरका रूपमा लिएर अघि बढ्न सक्यौं भने सफलता टाढा हुँदैन ।”

बारी रोस्टरीकी सञ्चालक डिना प्रधानले नेपाली कफीलाई ब्रान्ड बनाउने यात्राबारे आफ्ना अनुभव साटासाट गरेकी थिइन । “कोभिडको कठिन समयमा पनि नेपाली कफी प्रवद्र्धन गर्ने सोचले अघि बढ्यौं,” उनले भनिन्, “अवसर नेपालमै छन्, सोच र निरन्तरता चाहिन्छ ।”

सफ्टवेयर उद्यमी लुबिना शर्माले आईटी क्षेत्रमा महिला सहभागिता अझै कम भए पनि सम्भावना प्रशस्तै रहेको बताइन् ।
“इन्टरनेट र स्किल भए जहाँबाट पनि काम गर्न सकिन्छ,” उनले भनिन्, “सिनारियो परिवर्तन हुँदैछ, अगाडि बढिरहनु नै मुख्य कुरा हो ।”

संघका अनुसार शुक्रबार आईटी, साइबर सेक्युरिटी, एआई, डिजिटल मार्केटिङ, ई–कमर्स र स्टार्टअप आइडिया पिचिङसम्बन्धी सेसन हुनेछन् । सरकारले ल्याएका नीतिले उद्यमशीलता कसरी बढाउँछ भन्ने विषयमा समेत छलफल गरिनेछ ।

विराट ट्रेड एक्स्पोअन्तर्गत सुरु भएको यी थिमेटिक सेसनले महिला, युवा र विद्यार्थीलाई उद्यमशीलतातर्फ आकर्षित गर्ने कार्यक्रम संयोजक अनिल शारडाले बताए ।





*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka