विराटनगर । तराईमा बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण कोशी प्रेदशका दुई मुख्यम विमानस्थल मध्यान्नपछि मात्र खुलेका छन् ।
विराटनगर विमानस्थल १२ बजे खुलेको छ । भिजिविलिटी कम हुँदा उडान अवतरण प्रभावित भएको नागरिक उड्ययन कार्यालय विराटनगरले जनाएको छ । विराटनगरमा बिहानको पहिलो उडानका लागि काठमाडौबाट आएको विमान यतै बस्ने गरेकोमा आइतबार भने फर्किएको थियो ।
निरन्तरको हुस्सुका कारण झापाको चन्द्रगढी विमानस्थल पनि ढिलो गरी मात्र खुलेको छ । त्यहाँपनि दिउँसो १२ बजेसम्म विमानस्थल खुलेको थिएन ।
विमानस्थल प्रमुख किशोरकुमार खत्रीका अनुसार विमान अवतरणका लागि न्यूनतम दुई हजार दुई सय मिटर भिजिबिलिटी चाहिन्छ । निश्चित मापदण्ड पूरा गरेर एक हजार मिटर भिजिबिलिटीमा उडान भर्न पाइन्छ ।
‘निश्चित मापदण्ड पूरा गरेर बुद्ध एयरको एउटा जहाजले ११ बजेर ४५ मिनेटमा उडान भरे पनि अवतरण भने भएको छैन,’ उनले भने, ‘१२ बजेपछि भने विमानस्थल खुलेको छ । काठमाडाौबाट चन्द्रगढीका लागि जहाज उड्ने तयारीमा छन् ।’
पूर्वी तराई क्षेत्रमा बिहानैदेखि बाक्लो हुस्सु लागेको थियो भने भरखरै मात्रै घाम लागेको छ । घाम लागेसागै मौसम सफा हुँदा विमान उडान तथा अवतरणका लागि भिजिबिलिटी पुग्दा विमानस्थल खुलेको हो ।
