काठमाडौँ । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार फाइनलमा विपक्षी सुदूरपश्चिम रोयल्सलाई कुनै मौका नदिएको लुम्बिनीले ६ विकेटको विजय निकाल्यो ।
कप्तान रोहित पौडेलले हृयाट्रिक विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो । सुदूरपश्चिम एनपीएलमा पहिलो पटक १ सय रन कटाउन असफल रह्यो ।
एनपीएल इतिहासमा पहिला ब्याटिङ गरेको टोलीले बनाएको यो सबैभन्दा कम स्कोर हो ।
दिनेश अधिकारीले पहिलो ओभरमै ४ छक्का प्रहार गरेपछि लुम्बिनीले एकतर्फी फाइनलमा ९ ओभरमै लक्ष्य पूरा गर्यो । लुम्बिनी पहिलो पटक विजेता बनेको हो ।
सुदूरपश्चिम लगातार दोस्रो वर्ष फाइनलमा पराजित भएको हो । गत वर्ष पनि टोली फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
लुम्बिनीले लगातार खेल ६ जित्दै उपाधि जितेका हो । यसका साथै लुम्बिनीले सुदूरपश्चिमको लगातार ६ खेल जितेको कीर्तिमान बराबरी गर्नेछ ।
एनपीएल सिजन २ को सुरुआत सुदूरपश्चिमले लगातार ६ खेल जितेर गरेको थियो । तर सातौँ खेलमा टोली विराटनगर किंग्ससँग पराजित भएको थियो ।
त्यही विराटनगरलाई क्वालिफायर १ मा पराजित गरी सुदूरपश्चिम फाइनल पुगेको थियो ।
