Premier Cables

खेलकुद

पोखराले बल्ल निकाल्यो पहिलो जित, जनकपुरको तेस्रो हार

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर ११, २०८२  | साँझ ७:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले साविक विजेता जनकपुर रोयल्सलाई २४ रनले पराजित गर्दै आफ्नो पहिलो जित दर्ता गरेको छ।

दोस्रो संस्करणको तेस्रो खेलमा आएको यो जितसँगै पोखराले प्रतियोगितामा पुनरागमनको संकेत दिएको छ। यसअघि पोखरा विराटनगरसँग ५३ रनले र सुदूरपश्चिमसँग १८ रनले पराजित भएको थियो।

विज्ञापन

जनकपुरका लागि भने लिग निरन्तर निराशाजनक बन्दै गइरहेको छ। यसअघि उनीहरूले काठमाडौं गोर्खाजसँग पाँच विकेटले र विराटनगर किंग्ससँग नौ रनले हार बेहोरेका थिए। यो हार जनकपुरको लगातार तेस्रो पराजय हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार पोखराले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याउँदै जनकपुरले २० ओभरमा नौ विकेट गुमाएर १३० रनमात्र जोड्न सक्यो।

पोखराका बलर विपीन खत्री चम्किए। उनले चार ओभरमा मात्र १५ रन खर्चेर चार विकेट लिए। ३.७५ को उत्कृष्ट इकोनोमीमा बलिङ गरेका विपीनले ओपनर आसिफ सेखसहित सुभ कंशाकार, अनिलकुमार साह र मयन यादवलाई आउट गरे। ब्याटिङमा अर्धशतक बनाएका सुमित बर्माले पनि दुई विकेट हात पारे भने कुशल भुर्तेल र जिम्मी निसमले एक–एक विकेट जोडे।

जनकपुरका चार ब्याटर मात्रै दोहोरो अंकमा पुगे। आठौँ नम्बरमा आएका वायन पार्नेलले ३८ बलमा २ चौका र ४ छक्कासहित अर्धशतक बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। १९.२ ओभरमा ५० रन पूरा गरेपछि उनी ‘रिटायर्ड हर्ट’ भए। सोही ओभरमा पोखराका बलर डान डाउथवेट पनि मांसपेसीको खिचावका कारण ‘रिटायर्ड हर्ट’ हुनुपर्यो, जसपछि बाँकी बल सागर ढकालले फ्याँके।

जनकपुरतर्फ सञ्जय कृष्णमुर्थीले २५ तथा ओपनर माज सदाकले २० रन बनाए। ललित राजवंशी १० रनमा अविजित रहे। अन्य व्याटरहरूले क्रमशः आसिफ सेख (०), सुभ कंशाकार (४), लोफ्टी इटोन (२), कप्तान अनिल साह (१), मयन यादव (४) र रुपेश सिंह (७) रन बनाए।

यसअघि टस जितेर ब्याटिङ थालेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। पोखराका सुमित बर्मा २९ बलमा २ चौका र ४ छक्कासहित ५० रनमा अविजित रहे। ओपनर दीनेश खरेल र एडम रोसिङ्टनले पहिलो विकेटका लागि ८.३ ओभरमा ६१ रनको सुदृढ साझेदारी गर्दै राम्रो सुरुआत दिलाए। खरेल ३ रनमै आउट भए भने रोसिङ्टनले १७ बलमा २४ रन जोडे।

तर ६४ रनमै चार विकेट गुमाउँदा पोखरा दबाबमा परेको थियो। त्यसपछि सुमित र त्रितराज दासले पाँचौँ विकेटका लागि ७२ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक स्कोरसम्म पुर्‍याए। त्रितराजले २८ बलमा २९ रन योगदान दिए।

कप्तान कुशल भुर्तेल ‘गोल्डेन डक’ भए भने जिम्मी निसम १ रनमै आउट भए। डान डाउथवेटले ७ रन जोडे।

जनकपुरका सञ्जय कृष्णमुर्थी बलिङतर्फ उत्कृष्ट रहे—चार ओभरमा २१ रन खर्चेर तीन विकेट। कप्तान अनिल साह र ललितनारायण राजवंशीले एक–एक विकेट लिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka