Premier Cables
Premier Steel

खेलकुद

एनपिएलमा कसले कसरी कमाउँछन् ?

Calendar बुधबार, मंसिर १०, २०८२  | बिहान १०:५४ बजे

काठमाडौं । नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणले विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ ।

फ्रेन्चाइज प्रतियोगिताका रुपमा व्यावसायिक प्रतिष्ठानहरुका साथै निजी क्षेत्रबाट समेत करोडौं लगानी गरिएको एनपिएल क्रिकेटको पहिलो संस्करणको सफलतापछि दोस्रो प्रतियोगिता अहिले चलिरहेको छ ।

बिज्ञापन

यो नेपालको आफ्नै क्रिकेट लिग हो जसमा आठ फ्रेन्चाइजी टिम आपसमा भिड्छन् । ३२ वटा खेलमा करिब डेढ सय खेलाडी सहभागी हुन्छन् । मैदानमै गएर हेर्ने दर्शकका लागि त्रिवि क्रिकेट रंगशालामा हालै बनेको प्यारापिटले सहज बनाएको छ । त्यसमाथि नेपालका क्रिकेटप्रेमीहरुले पहिलो पटक रात्रिकालिन खेलको मजा लिन पाइरहेका छन् । मैदानमा गएर हेर्ने हजारौं र लाइभ हेर्ने लाखौं दर्शक, चर्चित विदेशी खेलाडी र कमेन्टेटरदेखि सेलिब्रेटीसम्मको साथ अनि ठूला ब्राण्डहरुको सपोर्टले एनपिएल भव्य बनिरहेको छ । एनपिएल एउटा खेल प्रतियोगिता मात्र रहेन । यसले आर्थिक गतिविधि पनि बढाएको छ ।

एनपिएलबाट हुने आर्थिक गतिविधि थुप्रै छन् । एनपिएलमा सहभागी जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र कर्णाली याक्सका लागि निजी क्षेत्रले उत्साहका साथ ठूलो लगानी गरेको छ । होटल बुकिङ, जर्सीको व्यापार, फ्रेन्चाइज टिमहरुले गर्ने प्रचारप्रसार र ब्राण्डिङ तथा व्यावसायिक घरानाहरुको आवद्धताले यसलाई एउटा आर्थिक चलायमान बनाउने प्रतियोगिता बनाएको छ।

यसपालि एनपिएलबाट आयोजक क्यानले करिब ४० करोड आम्दानी गर्ने लक्ष्य राखेको छ । क्यानले आठ वटा टिमसँग १० वर्षको सम्झौता गरेको छ । यी सबै टिमबाट क्यानलाई फ्रेन्चाइजी फी प्राप्त हुन्छ । यसैगरी एनपिएलका लागि विभिन्न प्रायोजकसँग १५ करोड ४० लाखको सम्झौता क्यानले गरेको छ । क्यानले नयाँ प्रयोगमा ल्याएको डिजिटल प्लेटफर्म ओटिटीबाट ७ करोड ३० लाख प्राप्त गर्नेछ ।

यसपालि घरेलु प्रसारणबाट एक करोड प्राप्त हुनेछ । गत वर्ष घरेलु टेलिभिजनमा क्रिकेट प्रसारण गरिएको थिएन । के हो त एनपिएलको आम्दानीको स्रोत रु एनपिएलबाट खासगरी आयोजक क्यानले चार किसिमको आम्दानी गर्छ( स्पोन्सरसिप, ब्रोडकास्टिङ राइट्स, टिकट बिक्री र फ्रेन्चाइजी फी । पहिलो सिजनमा क्यानले एकमुष्ट कमर्सियल राइट्स बेचेको थियो । टेन्डर प्रक्रियाबाट सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँमा ब्राण्ड लजिकले एक वर्षको कमर्सियल राइट्स पाएको थियो ।

ब्राण्ड लजिकले एकमुष्ट यो रकम क्यानलाई दिएर स्पोन्सरसिपको सबै जिम्मा लिएको थियो । ब्राण्ड लजिकले एक हिसाबले जोखिम लिएको थियो भने एकमुष्ट पैसा पाएर क्यान ढुक्क थियो । पहिलो सिजनको एनपीएलले नसोचेको हाइट लियो । धेरै ब्राण्डहरु एनपिएलसँग जोडिए र आर्थिक रुपमा एनपीएल सफल हुन पुग्यो । यस वर्ष अर्थात् दोस्रो सिजनमा भने स्पोन्सरसिप व्यवस्थापन लगायतको काम क्यान आफैंले गर्ने निर्णय गर्‍यो । अब एनपिएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक, पावर्ड बाइ पार्टनर एनसेल लगायतबाट आउने पैसा क्यानले नै लिनेछ ।

अरु थुप्रै स्पोन्सर र पार्टनरहरु छन् जसले क्यानलाई पैसा तिर्छन् । यी सबै ग्राउण्ड स्पोन्सरहरुबाट क्यानले करिब १५ करोड रुपैयाँ उठ्ने अनुमान गरेको छ । यो सिजनमा क्यानसँग करिब ६० कर्पोरेट ब्राण्डहरु जोडिएका बताइएको छ । क्यानले ब्रोडकास्टिङ र स्ट्रिमिङ राइट्सबाट पनि ठूलो आम्दानी गर्छ । यसबाट ७ करोड ३० लाख आम्दानी हुने क्यानले बताएको छ । स्ट्रिमिङ राइट्सका लागि डिसहोम गो ले मात्रै ५ करोड ३० लाख रुपैयाँ क्यानलाई तिर्नेछ । पूरै सिजन एनपीएल हेर्न उपभोक्ताले डिसहोमलाई ३०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । क्यानले एनपिएलबाट गर्ने आम्दानीको अर्को स्रोत हो टिकट बिक्री ।

पहिलो सिजनमा क्यानले टिकट बेचेर चार करोड कमाएको थियो । यसपटक आठदेखि १२ करोड रुपैयाँ टिकट बिक्रीबाट आम्दानी हुने अनुमान गरिएको छ । किनभने अहिले कीर्तिपुर रंगशालामा १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण भएको छ र टिकटको मूल्य पनि बढाइएको छ । एनपिएलको आम्दानी हुने अर्को बाटो हो फ्रेन्चाइज फी । क्यानले पहिलो सिजनमा फ्रेन्चाइज फीबाट १७ करोड उठाएको थियो । यस वर्ष हरेक टिमबाट एक(एक करोड गरी ८ करोड रुपैयाँ क्यानले पाउनेछ । गत वर्ष फ्रेन्चाइज खरिद गर्दाको शुल्क भएका कारण बढी आम्दानी भएको हो । यसरी क्यानले यस वर्ष एनपिएलबाट करिब ४० करोड आम्दानी हुने आँकलन गरेको छ ।

यो त भयो आम्दानीको कुरा । एनपिएल जस्तो लिग गर्न खर्च पनि निकै हुन्छ । सबैभन्दा धेरै मैदानमा चाहिने उपकरणहरु र व्यवस्थापनमा खर्च हुन्छ । जनशक्ति व्यवस्थापनमा पनि निकै खर्च लाग्छ। म्याच फिक्सिङ, डोपिङ जस्ता गैरकानुनी काम हुन नदिई खेललाई निष्पक्ष बनाउन आईसीसीदेखि नेपाल प्रहरीसम्मलाई क्यानले परिचालन गरेको छ । यसमा पनि खर्च हुन्छ । अर्को खर्च हो पुरस्कार । एनपिएलको ट्रफी विजेताले एक करोड ११ लाख रुपैयाँ पाउँछ। दोस्रोले ५० लाख, तेस्रोले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउँछ ।

उद्घाटन र समापन समारोह, अक्सन, प्रेस मिट, प्रचारप्रसार, मार्केटिङ आदिमा पनि खर्च लाग्छ । पहिलो संस्करणमा २० करोड १५ लाख रुपैयाँ खर्च भएको विवरण क्यानले सार्वजनिक गरेको थियो । आम्दानी भने २७ करोड ६९ लाख भएको थियो । यस वर्ष खर्च घट्ने अपेक्षा क्यानले गरेको छ । गत वर्ष पहिलो पटक भएकाले सञ्चालन खर्च बढी भएको र यसपटक त्यस्तो खर्च घट्ने क्यानको अपेक्षा छ । खर्चको यकिन आँकडा भने अहिले नै भन्न नसकिने क्यानका पदाधिकारीले बताएका छन् । एनपिएलमा सहभागी टिमहरुले पनि निकै खर्च गर्छन् । यसमा टिम किन्ने खर्च, फ्रेन्चाइजी फि, खेलाडी किन्ने र रिटेन गर्ने खर्च, विदेशी खेलाडीलाई तिर्नुपर्ने रकम, प्रशिक्षकलाई दिनुपर्ने पैसा, प्रशिक्षण तथा होटल खर्च, सेलीब्रेटीबाट गराउने प्रचारप्रसार आदि पर्छन् ।

यी सबैमा गरी एउटा टिमले करिब १० करोड खर्च गर्ने आँकलन छ । एनपिएलको अक्सनबाट किनिने हरेक खेलाडीले दुई लाखदेखि १५ लाखसम्म पारिश्रमिक पाउँछन् । हरेक टिमका मार्की खेलाडीले २० लाखसम्म पाउँछन्। हरेक म्याचमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको थप आम्दानी हुन्छ । प्रतियोगिताकै उत्कृष्ट खेलाडीले कार र मोटरसाइकल समेत पाउँछन्। पहिलो सिजनमा दिपेन्द्रसिंह ऐरीले कार र ललित राजवंशीले मोटरसाइकल जितेका थिए।

एनपिएलबाट भएको आम्दानीको करिब ५० प्रतिशत क्यानले फ्रेन्चाइज टिमहरुलाई वितरण गर्छ । गत वर्ष पहिलो सिजनको नाफाबाट क्यानले ८ टिमलाई चार करोड ३७ लाख रुपैयाँ बाँडेको थियो । एक टिमको भागमा करिब ५७ लाख रुपैयाँ परेको थियो । एनपिएलको आम्दानी र भ्यालु बढ्दै जाँदा टिमहरुको आम्दानी पनी बढ्दै जाने निश्चित छ । खेल जित्दा आउने पुरस्कार पनि टिमको आम्दानी हो । एनपिएलको अर्थतन्त्र यति नै छ भनेर यकिनका साथ भन्न सकिँदैन। तर यसले धेरै क्षेत्रलाई चलायमान बनाउँछ। खेलाडी, प्रशिक्षक, अम्पायरदेखि प्राविधिकसम्म थुप्रै रोजगारी सिर्जना गर्छ र उपभोग बढाउँछ ।

ठेलामा बदाम-सुन्तला र चटपटे बेच्नेदेखि पाँचतारे होटलसम्मले आम्दानी गर्छन्। एनपिएलसँग धेरै कर्पोरेट हाउस जोडिने भएकाले तिनको व्यवसाय विस्तारमा पनि एनपिएल सहयोगी बन्छ । होटलहरुको व्यापार बढ्छ । अप्रत्यक्ष रुपमा फाइदा पुग्ने अरु धेरै क्षेत्र छन् । पहिलो सिजनको एनपिएलमा सय करोड रुपैयाँको आर्थिक क्रियाकलाप भएको अनुमान गरिएको थियो । यो आँकडा यस वर्ष बढ्ने अनुमान जानकारहरुले गरेका छन्।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka