Premier Cables
Premier Steel

राजनीति

नयाँ दल दर्ता हुन निर्वाचन आयोगमा १५ निवेदन परे

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक ०७, २०८२  | साँझ ४:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि हालसम्म निवेदन दिएका १५ दलका कागजात अध्ययनरत रहेको जनाएको छ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको घोषणा हुनुअघि १० र घोषणा पश्चात् थप पाँच दलले दर्ता निवेदन दिएका छन्। ती सबै दलका कागजात आयोगमा विचाराधीन अवस्थामा रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

बिज्ञापन

आयोगका अनुसार, दल दर्ताका लागि वर्षभरि नै निवेदन दिन सकिए पनि हाल जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक वातावरण र युवा पुस्ताको सक्रियताले नयाँ दल दर्ताको क्रम बढेको छ। प्रवक्ता भट्टराईका अनुसार, प्रक्रिया पूरा गर्ने दलहरूलाई आयोगले स्वीकृति दिनेछ।

निर्वाचन घोषणापछि दर्ता निवेदन दिने दलमध्ये धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीले गत असोज ७ गते निवेदन दिएको थियो। त्यसैगरी गोपीलाल न्यौपाने नेतृत्वको नेपाल लिबरल पार्टीले ‘सिक्का’ चिन्हसहित कात्तिक २ गते दर्ता निवेदन पेश गरेको छ।

अधिवक्ता डा. सुरेन्द्र भण्डारी नेतृत्वको नेपाल नागरिक पार्टीले गत असोज ९ गते आयोगमा निवेदन दियो भने दिनेशराज प्रसाईँ नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टीले असोज ३० गते ‘ज्योति’ चिन्हसहित दल दर्ता निवेदन पेस गरेको हो।

त्यस्तै, हिराप्रसाद सोती नेतृत्वको राष्ट्रिय जेनजी पार्टी नेपालले पनि कात्तिक २ गते आयोगमा निवेदन दिएको छ। यस दलले ‘क्रस खुकुरी’ चिन्ह माग गरेको छ। प्रवक्ता भट्टराईका अनुसार, उक्त चिन्ह र उमेर समूह खुल्ने खालको दल नाम हालसम्म कसैलाई नदिइएको हुँदा प्रचलित व्यवस्था र अभ्यासका आधारमा निर्णय गरिनेछ।

निर्वाचन घोषणापूर्व दर्ता निवेदन दिएका १० दलका कागजात अधुरो भएकाले हालसम्म स्वीकृति नदिइएको आयोगले जनाएको छ। तीमध्ये उज्यालो नेपाल, राष्ट्रिय परिवर्तन पार्टी लगायत छन्।

आयोगले पूर्ण कागजातसहित निवेदन दिने दलको हकमा ४५ दिनभित्र निर्णय गर्ने प्रावधान रहेको बताएको छ। अहिले आयोगमा १२४ दल दर्ता भएका छन्—पहिले १२२ दल रहेकामा दुई दल विभाजन भई संख्या बढेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka