






विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बजेट कार्यान्वयन नगर्ने गरी कटौती गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार, जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनी, र हालैको बाढीपहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि यो निर्णय गरिएको हो।
मन्त्री भण्डारीले पुनर्निर्माणमा आवश्यक खर्च जुटाउन बजेट कटौती गरेर त्यसलाई पुनः व्यवस्थित गरिने जानकारी दिए। सरकारले हाल बजेटलाई पुनर्निर्माणमा केन्द्रित गर्दै तयारी तीव्र बनाएको छ।
त्यस्तै, मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार विकास मन्त्रालयमा मिलन आचार्यलाई सचिव र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा इन्द्र सापकोटालाई सचिव नियुक्त गर्ने निर्णय पनि गरेको छ।
साथै, पुनर्निर्माणमा मात्रै खर्च गर्ने सर्तसहित रकमान्तर (बजेट सार्न) को व्यवस्था खुला गर्ने निर्णय पनि गरिएको छ।