Premier Cables
Premier Steel

खेलकुद

टी-२० विश्वकप छनोट: जापानलाई हराउँदै समूह विजेता बन्यो नेपाल

Calendar शुक्रबार, असोज २४, २०८२  | साँझ ७:४३ बजे

काठमाडौं । जापानविरुद्ध पाँच विकेटको जित निकालेसँगै नेपाल समूह ‘बी’ को विजेता बन्दै आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा प्रवेश गरेको छ ।

शुक्रबार ओमानको अल अमेरतमा सम्पन्न खेलमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

बिज्ञापन

नेपालको जितमा ओपनर आसिफ सेखले सर्वाधिक ३८ रन बनाए । गुल्सन झाले अविजित २८ रन थप्दा अर्का ओपनर कुशल भुर्तेलले २७ रन जोडे । कप्तान रोहितकुमार पौडेलले १८ र दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए ।

जापानका सोमा सेल्टरले दुई विकेट लिए । रियो साकुरानो थोमस, सबारिस रविचन्द्रन र डेक्लान सुजुकीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३१ रनको योगफल खडा गरेको थियो ।

जापानका ओपनर तथा कप्तान केन्डेल फ्लेमिङले सर्वाधिक ६० रन बनाए । गुल्सन झाले गरेको १४औँ ओभरको तेस्रो बलमा कप्तान रोहित पौडेलबाट क्याच हुनुअघि उनले ४६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे ।

एस्मान रहमानले २५ बलमा एक चौका र दुई छक्कासहित ३१ रन थपे । यी दुईले ११–१ को स्थितिबाट ८६ रनको साझेदारी गर्दै जापानलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

शीर्ष क्रम ब्याटरबाट राम्रो प्रदर्शन रहे पनि मध्यक्रमका ब्याटरले त्यो लयलाई कायम राख्न नसक्दा जापान ठूलो स्कोरसम्म पुग्न सकेन । १४औँ ओभरको समाप्तिसम्म जापानले तीन विकेट गुमाएर १०२ रन बनाएको थियो । तर, यसपछिका ६ ओभरमा नेपालका बलरले उत्कृष्ट पुनरागमन गर्दा जापानले स्कोरबार्डमा २९ रनमात्र थप्न सक्यो ।

यी दुईबाहेक, बेन्जामिन इटो–डेविसले १७ रन थपे ।

नेपालका सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिए । सोमपाल कामी र नन्दन यादवको नाममा समान एक विकेट रह्यो । चार ओभर बलिङ गरेका सन्दीपले २५ रन खर्चिए । गुल्सन र सोमपालले समान २० रन खर्चिए ।

नेपालले यसअघि पहिलो खेलमा कुवेतविरुद्ध ५८ रनको जित निकालेको थियो । हारका बाबजुद जापान पनि समूह उपविजेताको रुपमा सुपर–६ मा प्रवेश गरेको छ ।

विश्वकपको यो छनोट प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका कुल नौ टिमको सहभागिता छ । जसबाट तीन टिमले मात्र आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन् ।

समूह चरणमा नौ टिमलाई प्रत्येक समूहमा तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको छ । जसबाट प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ मा छनोट हुनेछन् । सुपर–६ को शीर्ष तीनमा रहने टिमले विश्वकपमा स्थान बनाउने छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka