






काठमाडौं, असोज २३। आज देशका केही भागमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल देशभर मनसुनी प्रणाली र स्थानीय वायुप्रवाह कमजोर भएका कारण धेरैजसो स्थानमा मौसम सफा रहनेछ। यद्यपि, वर्षा हुने स्थानहरूमा पनि सामान्यतः हल्का खालको मात्र वर्षा हुने अनुमान गरिएको छ।
दिउँसो कोसी प्रदेशसहित देशका पहाडी भूभागहरूमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहने विभागको पूर्वानुमान छ। पहाडी क्षेत्रमा एक-दुई स्थानमा मात्रै हल्का वर्षा हुनसक्ने सम्भावना छ।
रातिको पूर्वानुमान अनुसार पनि कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतः खुला रहनेछ। ती पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा पर्ने सम्भावना कायम रहेको छ।
हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भागका धेरै स्थानमा तथा गण्डकी प्रदेशको पश्चिमी भागका केही क्षेत्रमा पश्चिमी वायुप्रवाह सक्रिय छ।
अन्य क्षेत्रहरूमा भने मनसुनी वायु र स्थानीय वायुप्रवाह कमजोर रहेका कारण मौसममा खासै परिवर्तन नआउने विभागले जनाएको छ।