






विराटनगर। जेनजी आन्दोलनका क्रममा दुहबी नगरपालिकाको कार्यालयमा भएको तोडफोड र आगजनीका कारण क्षति पुगेका कार्यालय सामग्री पुनःस्थापनाका लागि तीन व्यापारिक संघ-संगठनहरूले संयुक्त रूपमा आर्थिक सहयोग गरेका छन्।
मोरङ उद्योग व्यापार संघ, नेपाल उद्योग परिसंघ कोशी प्रदेश र उद्योग संगठन मोरङले दुहबी नगरपालिकालाई करीब तीन लाख रुपैयाँ बराबरका कार्यालय उपकरण तथा जिन्सी सामग्री प्रदान गरेका हुन्।
संघ-संगठनले नगरपालिकाको प्रशासनिक कामकाज पुनःसञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले २ थान कम्प्युटर, २ थान प्रिन्टर, २ थान अफिस टेबल, २ थान रिभल्भिङ कुर्सी, ४ थान भिजिटर कुर्सी, १ थान स्टील दराज र १ थान बुककेस हस्तान्तरण गरेका छन्।
सामग्रीहरू दुहबी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छदार र प्रमुख प्रशासकीय अधिकृत सवर्ण घिमिरेलाई मोरङ उद्योग व्यापार संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मी, उद्योग संगठनका महानिर्देशक चुडामणि भट्टराई र उद्योग परिसंघ कोशीका महानिर्देशक विजय हरी शर्माले हस्तान्तरण गरेका थिए।